नेवा: समुदायकाे ठूलाे चाड यमरी पुन्ही भब्यताकासाथ मनाइँदै, आज काठमाडाैंकाे बसन्तपुरमा ज्यापु दिवस

काठमाडौं, ३० मङ्सिर । आज मार्गशीर्ष शुक्ल पूर्णिमा अर्थात यमरी पुन्हि, धान्य पूर्णिमा पर्व देशैभरका नेवा: समुदायले भब्यताकासाथ मनाइँदै छ ।

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवा: समुदायले आज यमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउन लागेका हुन् । यसैदिन काठमाडाैंकाे बसन्तपुरमा नेवा: समुदायले ज्यापु दिवस पनि भब्यताका साथ मनाइँदैछ ।

नेवा: समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । यमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

यमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिलाहरू व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकाएर घर लिपपोत गरेर यमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवा: समुदायले नवअन्नप्राशनका रूपमा मनाउने गर्दछन् ।

परम्परागत यमरीमा खासमा चाकु र तिल राखेर बनाइन्छ भने आजभाेली दुधबाट बनेकाे खुवा, बर्फीलगाएतका राखेर पनि बनाइन्छ ।

नेवा: समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर यमरी चढाएर चारदिन सम्म पुजा गर्ने चलन छ । साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट दहि च्युरा खुवाउनेबेला तिल र चाकु भरिएको यमरी सगुनका रूपमा लिएर जाने चलन पनि छ ।

के हाे त यमरी पुन्हि ? किन मनाइँन्छ ?

नेवार समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरू हुने गर्दछन् । यस मध्य एक यमरी पूर्णिमा पनि रहेको छ ।

नेपाल सम्वत अनुसार थिंलाथ्व पूर्णिमा (मार्ग शुक्ल पूर्णिमा) का दिन मनाइने यो पर्वमा विशेष प्रकारको रोटीको भोग गर्ने गर्दछ जसलाई यमरी भनिन्छ । यमरी खाने दिन भएको कारण यस दिनलाई यमरी पूर्णिमा भनिएको हो ।

नयाँ धान भित्र्याएको खुसीयालीमा हर्षोल्लासका साथ यो चाड मनाउने गरिन्छ । यसरी भित्र्याइएको नयाँ धानको चामलबाटै यमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा यमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ । यमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ ।

यसरी चढाएको यमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ । साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन पनि रहेको छ। यो एक प्रकारले देउसी, भैलो जस्तै प्रचलन हो । योमरी माग्ने प्रचलन यस दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई “त्यसिंत्य” भन्ने गरिन्छ । यसरी योमरी माग्न गई सबैको भलोको कामना समेत गर्दछन् । यस पूर्णिमाका रात सबै भन्दा लामो रातको रूपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेहरूलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने गरिन्छ । यस पूर्णिमाको भोलिपल्ट देखि योमरीको चुच्चो दिन जस्तै लम्बिँदै जान्छ भन्ने गरिन्छ ।

वैज्ञानिक कथन अनुसार जाडो महिनामा चाकु खानाले शरीरमा न्यानोपन बढ्छ, जसले रुघाखोकी लाग्न दिँदैन ।

किम्वदन्ती अनुसार यमरी पूर्णिमाबारे एक ऐतिहासिक कथा रहेको छ । जसअनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पती बस्दथे । उनीहरूको दयालु स्वभाव संसारभर फैलिएको थियो । एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पती कतिको दानी रहेछन् भनी बुझ्न मन लागेछ । कुबेरले एक दरिद्र रूप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् ।

महाजन दम्पतीले दरिद्र रूपी माग्नेलाई स्वागत सत्कार गरी पकाएर राखेको यमरी सहित खानेकुरा खुवाउनुको साथै श्रद्धा गरेकाले कुबेर खुसी भई आफ्नो सक्कली रूपको दर्शन दिएछन् र ती महाजन दम्पतीलाई यमरीको गुण र धानको भकारीमा गणेश, कुबेर र तिनका वाहन सहितको प्रतिमा बनाई पूजा गरी यमरी चढाउने विधि बताएर अन्तर्ध्यान भएछन् । त्यस दिन मङ्सिर शुल्क पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाको दिन थियो । कुवेरले दिएको महाजन दम्पतीले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी (यमरी) बनाई अन्न राख्ने भकारीमा विधिपूर्वक स्थापना गरि ४ दिन सम्म छोपेर राखी पूजा गरेछन् । अनि अन्न, धान र यमरी दान पनि गरेछन् ।

भकारीमा चढाएको चार दिनपछि दिइसकेका छोरी-चेली समेतलाई माइतमा बोलाइ सपरिवार बसेर यमरी प्रसादका रूपमा बाँडेर खाने/ख्वाउने गरिन्छ । यमरी खाएकाले शरीरसमेत हृष्टपुष्ट हुन थालेछ । धन सम्पत्तिको वृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ । विस्तारै यो कुरा जताततै फैलिए । त्यही समयदेखि नेवार समुदायमा यमरी पूर्णिमाको संस्कृति विकास भएको विज्ञहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *