काठमाडौंकाे इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाखसहित एक व्यक्ति पक्राउ
काठमाडौं, १४ माघ । काठमाडौंको व्यापारिक केन्द्र इन्द्रचोकबाट प्रहरीले एक व्यक्तिलाई स्रोत नखुलेको ठूलो रकमसहित नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टेलिजेन्स शाखाले गरेको विशेष अनुगमनका क्रममा चितवन भरतपुर मूल घर भई हाल टोखामा बस्दै आएका ४८ वर्षीय माधव श्रेष्ठलाई आइतबार दिउँसो पक्राउ गरेको हो।
श्रेष्ठको साथबाट प्रहरीले ३९ लाख ७८ हजार रुपैयाँ बरामद गरेको छ। उक्त रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको र शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस्ता घटनाले अवैध वित्तीय कारोबार र कालो धनको चलखेल नियन्त्रणमा प्रहरीको सक्रियता बढेको छ ।
यस्ता अवैध स्रोत नखुलेको रकम कारोबारले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने र आर्थिक अपराधलाई प्रोत्साहन गर्ने भएकाले प्रहरीले यस्ता गतिविधिमाथि कडा निगरानी राख्दै आएको छ। पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।