रामेछापमा व्यावसायिक माहुरीपालन धेरैको रोजाइमा

रामेछाप, १२ फागुन । रामेछाप जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ। यहाँका स्थानीय तहहरूमा माहुरीपालन गर्नेको संख्या बढ्दै गएको हाे।

मन्थली र रामेछाप नगरपालिका, सुनापति गाउँपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन भइरहेको छ। कम लगानीमा बढी आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन्। सुक्खा ठाउँमा पनि माहुरीपालन गर्न सकिने भएकाले यो धेरैको रोजाइमा परेको छ।

विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई/तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन्। लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्केका रामेछाप नगरपालिका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाउँमै केही गर्ने अठोटका साथ माहुरीपालन सुरु गरेका हुन्।

अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यसप्रति सन्तुष्ट रहेको उनको भनाइ छ। अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ। एक सिजनमा एउटा घारबाट तीन केजीसम्म मह उत्पादन हुन्छ। एक वर्षमा चार पटकसम्म मह काढ्ने गरेको तामाङले बताए।

मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई/तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाएका छन्। उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसकेका छन्। सुरुमा माहुरीपालनसम्बन्धि कुनै ज्ञान नभएपनि छोटो अवधिको तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उनले बताए।

उनले भने, “विशेषगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो-चाँडो काढ्न सकिन्छ। माहुरीको चरन क्षेत्र भनेको फुलवारी र तोरीवारी हो।” माहुरीपालन गर्ने कृषकले मह मात्र नभई माहुरीसहितको घारसमेत बिक्री गर्ने गरेका छन्। सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा १० हजार रुपैयाँसम्ममा बिक्री हुने कृषक बताउँछन्।

मन्थलीमा सदावहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ। छोटो तालिमपश्चात् सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्ममा गाउँघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताए।

उनले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन्। खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि व्यावसायिक माहुरीपालन गरेका छन्। रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाउँमा माहुरीपालन गरिरहेका छन्। खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ।

माहुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ। उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिइन्।