काठमाडौँ महानगरको ‘टोलटोलमा फिल्म महोत्सव’ : ८ व्यवस्थापक संस्था छनोट, असार ५ देखि सुरु हुने
काठमाडौँ, असार ३ । काठमाडौँ महानगरपालिकाले स्थानीयस्तरमा चलचित्र र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको ‘टोलटोलमा फिल्म महोत्सव’का लागि ८ वटा व्यवस्थापक संस्थाहरू छनोट गरेको छ। महानगरको सम्पदा तथा पर्यटन विभागले आह्वान गरेको प्रस्तावका आधारमा २० वटा संस्थाहरूले आवेदन दिएकोमा मूल्याङ्कनका आधारमा ८ वटालाई मुख्य र ३ वटालाई वैकल्पिक सूचीमा राखिएको हो ।
सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार प्रस्तावक संस्थाहरूले पेश गरेको स्थान चयन, प्रस्तावित क्रियाकलाप र खर्चको अङ्कभारका आधारमा यी संस्थाहरू छनोट गरिएको हो । महोत्सवका लागि आवश्यक पर्ने सर्ट फिल्म, एलईडी स्क्रिन, साउण्ड सिस्टम र क्युरेटर लगायतका प्राविधिक सहयोग महानगरपालिकाले उपलब्ध गराउनेछ भने स्थानीय स्तरको व्यवस्थापन छनोट भएका संस्थाहरूले गर्नेछन् ।
महोत्सवको कार्यतालिका र स्थान
महोत्सवको औपचारिक शुभारम्भ आगामी असार ५ गते खुला मञ्चबाट हुनेछ। उद्घाटन कार्यक्रमको व्यवस्थापन ‘इकोज इन द भ्याली’ले गर्नेछ। त्यस्तै, असार ६ गते असनमा हुने कार्यक्रमको व्यवस्थापन ‘नीलः सांस्कृतिक क्लव’ले गर्ने तय भएको छ ।
असार महिनाभरि प्रत्येक शुक्रबार र शनिबार आयोजना हुनेछन् ।
बालाजु बाइपास क्षेत्र: येँःका पुच
बागबजार सडक खण्ड: निर्णय नेपाल
यट्खा बहाल (भाष्करकीर्ति महाविहार): नेपाल भाषा स्यनेकने फाउण्डेसन
लगनटोल: न्हुग पःला सांस्कृतिक मिसा पुचः
मैतीदेवी मन्दिर खुला चौर: मैतीदेवी युनाइटेड क्लव
महोत्सवका गतिविधि र लक्ष्य
महोत्सवमा लघु चलचित्र (सर्ट फिल्म) हरूको प्रदर्शन गरिनुका साथै चलचित्र, कला र रचनात्मक उद्योगका विषयमा अन्तरक्रियात्मक संवाद तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा आयोजना गर्ने लक्ष्य राखेको ‘अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को पूर्वतयारी र आधार निर्माणका रूपमा यो टोलस्तरीय महोत्सवलाई अघि बढाएको हो। यसले स्थानीय स्तरमा चलचित्र प्रतिको रुचि बढाउन र रचनात्मक उद्योगलाई प्रोत्साहन गर्न सहयोग पुग्ने महानगरको विश्वास छ ।