यथार्थपरक नयाँ बजेट तर्जुमा गर्न अर्थमन्त्रीको पौडेलको आग्रह
काठमाडौं,२१ फागुन । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया सुरु गरेको छ। यसै क्रममा अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सम्बन्धित विभाग र निकायहरूसँग छलफल गरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेट अनुशासित र यथार्थपरक हुने बताउनुभएकाे छ । यथार्थपरक बजेट ल्याउँदा आर्थिक वर्षको बीचमा रकमान्तर र संशोधनको आवश्यकता नपर्ने र कार्यान्वयनमा सहजता आउने उहाँको भनाइ छ।
मन्त्रालयगत छलफलमा अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा विगतका अनुभवबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताउनुभयाे। संघीय संरचनालाई ध्यानमा राखी संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम हुने गरी बजेट बनाइने उहाँको भनाइ थियो।
बजेट निर्माणमा सबै मन्त्रालय र निकायको सहकार्य आवश्यक रहेको र सबै पक्षको अपनत्व हुने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिई कार्यान्वयन गर्न सकिने, प्रभावकारी र नतिजामुखी बजेट बनाइने अर्थमन्त्री पौडेलले बताउनुभयाे । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटबीच समन्वय मिलाएर आगामी आर्थिक वर्षको बजेट तयार गरिने उहाँको भनाइ छ।
कार्यान्वयन गर्न कठिन हुने र कम प्राथमिकताका आयोजनालाई स्थगित गर्दै व्यवहारिक योजना मात्र समावेश गर्न अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएकाे छ । साना योजना कटौती गर्दै क्रमागत योजनाको संख्या घटाउनुपर्ने उहाँको सुझाव थियो।
बजेट प्रस्ताव गर्दा सिलिङलाई ध्यानमा राख्न अर्थमन्त्री पौडेलले आग्रह गर्नुभयाे । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६५ करोड रुपैयाँको सीमाभित्र रहेर बजेट ल्याउन सकिने गरी सरकारलाई सिफारिस गरेको छ।