४५ वर्षपछि इतुम्बहालबाट चोरिएका पौभा नेपाल फिर्ता
काठमाडौँ, २८ फागुन । श्री भाष्करदेव संंस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजले बुधबार न्यूयोर्क नेवाः गुथिका अध्यक्ष विजयमान सिंहलाई सम्मान गरेको छ । अमेरिकाबाट तीन थान इतुम्बहालको पुरानो चित्रकला (पौभा) फर्काउन विशेष पहल गरेको भन्दै सिंहलाई सम्मान गरिएको हो । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङगोलले अध्यक्ष सिंहलाई सम्मान पत्र र मायाको चिनोसहित सम्मान गर्नुभयो ।
श्री केशचन्द्र महाविहारको करिव ५५० वर्ष (पौभाः) हरु ४५ वर्ष पछि अमेरिकाबाट पुनः नेपाल फर्किएको हो । विभागसँगको समन्वयमा अध्यक्ष सिंह आफैले गत हप्ता तीनै पौभा तथा अन्य १७ वटा कलाकृति बोकेर नेपाल आउनुभएको हो । अमेरिकाबाट नेपाल फर्केका तीन पौभा ‘चिन्तामणि लोकेश्वर’, ‘केशचन्द आजु भैरव दर्शन गरिरहेको’ तथा ‘गगनसिं र उहाँका दुई श्रीमती’ रहेका छन् । यसमध्ये गगनसिंको पौभा (१९१.८ ह १६१.९ सेमी) सबभन्दा ठूलो आकारको रहेको छ । चिन्तामणि लोकेश्वरको आकार १६४.४ ह १४३.५ र केशचन्द आजु भैरव दर्शन गरिरहेको पौभाको आकार १६६.४ १३९.६ सेमीका छन् ।
श्री भाष्करदेव संंस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले दुई दशकभन्दा बढी समयको अथक पहलपछि ती पौभा नेपाल फर्किन सफल भएको बताउँदै यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले सांस्कृतिक र धार्मिक महत्वले भरिएको पौभा अब इतुंबहालमै पुन स्थापना गर्नुपर्ने यसका लागि राज्यले पनि आवश्यक सुरक्षा र सुविधा दिनुपर्ने आवश्यकता महसुस गरेको छु भन्नुभयो ।