इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ४१३ पुग्यो, सयौं घाइते

एजेन्सी, ६ चैत्र । इजरायली हवाई आक्रमणबाट गाजा पट्टीमा मारिने प्यालेस्टिनीहरूको संख्या ४१३ पुगेको छ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार बिहान गाजाका विभिन्न स्थानमा भएका इजरायली हवाई आक्रमणमा परी उनीहरूको ज्यान गएको हो।

जारी आक्रमणमा कम्तीमा ५६२ प्यालेस्टिनी घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा अझै धेरै पीडितहरू भग्नावशेषमा फसेको र उनीहरूको उद्धार प्रयास जारी रहेको उल्लेख छ।

इजरायल रक्षा बल (आईडीएफ) र शिन बेटले संयुक्त विज्ञप्ति जारी गर्दै गाजा पट्टीभरि विद्रोही लक्ष्यहरूमा प्रहार गरिरहेको जनाएको छ। विज्ञप्तिमा पछिल्ला केही घण्टामा प्रक्षेपण पोस्ट, हतियार भण्डार र अन्य सैन्य पूर्वाधारहरूमा आक्रमण गरिएको उल्लेख छ।

इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति तथा मध्यस्थकर्ताहरूको सबै प्रस्तावलाई बेवास्ता गरेका कारण आक्रमणहरू पुनः सुरु गरेको बताएको छ।

यता, हमासले इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ। साथै, हमासले इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको छ।