अन्तरिक्षमा ‘फसेका’ यात्रीहरू पृथ्वीमा सुरक्षित फर्किए

एजेन्सी, ६ चैत्र । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई अन्तरिक्ष यात्रीहरू नौ महिनाको अप्रत्याशित बसाइपछि मङ्गलबार साँझ अमेरिकी समय अनुसार पृथ्वीमा फर्किएका छन्।

अन्तरिक्षमा आठ महिना बिताएपछि विल्मोर र सुनी विलियम्स पृथ्वीमा फर्किएका हुन्। उनीहरूलाई लिएर अमेरिकी अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ स्पेसएक्स अन्तरिक्षयानमा अमेरिकाको फ्लोरिडा तटमा मङ्गलबार साँझ ५ः५७ बजे अवतरण गरेका हुन्।

चालक दलका अन्य सदस्यहरूसँग बिदाइ र आलिङ्गन गरेपछि उनीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट करिब १७ घण्टाअघि छुटेका थिए।

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट १० यात्रुसहित आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको थियो। उक्त समूहमा गएका अन्य आठ अन्तरिक्ष यात्री नासाको विशेष मिसनका लागि अन्तरिक्षमा नै रहनेछन् र अनुसन्धान जारी राख्नेछन्।

यो बसाइ अन्तरिक्ष यात्रीहरूका लागि सामान्यतया ६ महिनाको हुने आईएसएस रोटेशनभन्दा लामो हो। तर, यो सन् २०२३ मा नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेशनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो।

नासाको अन्तरिक्ष सञ्चालन मिसन डाइरेक्टर्सका डेपुटी एसोसिएट एडमिनिस्ट्रेटर जोएल मोन्टाल्बानोका अनुसार सुनी र बुचले आईएसएसमा ९०० घण्टा अनुसन्धान गर्नुका साथै १५० भन्दा बढी वैज्ञानिक प्रयोग गरेका थिए।

उहाँले नासाका अन्तरिक्ष यात्रीहरूको प्रयोगलाई ‘राष्ट्रका लागि फाइदाजनक’ भन्दै यस दशकको अन्त्यसम्ममा मङ्गल ग्रहमा मानव अवतरण गर्ने नासाको लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *