फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता
पेरिस, ६ मङ्सिर । फ्रान्समा प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले प्रयोग गर्ने अश्रुग्यासले महिलाको महिनावारी चक्र तथा प्रजनन स्वास्थ्यमा असर पार्न सक्ने भन्दै यसको प्रयोग रोक्न र स्वतन्त्र अनुसन्धान गर्न माग गरिएको छ ।
जीवनयापनको बढ्दो खर्चविरुद्ध विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रयोग गरेपछि केही महिलाले पेट दुख्ने, अनियमित रक्तस्राव हुने तथा महिनावारी चक्रमा परिवर्तन आएको बताएका छन् । ‘ल्याक्रिमोस डे साङ’ अभियान समूहले यससम्बन्धी १० हजारभन्दा बढी उजुरी प्राप्त भएको जनाएको छ । यद्यपि, ती उजुरी स्वतन्त्र चिकित्सकीय परीक्षणबाट पुष्टि भइसकेका छैनन् ।
फ्रान्सेली प्रहरीले प्रयोग गर्ने सीएस रसायनयुक्त अश्रुग्यासले आँखा, छाला तथा श्वासप्रश्वास प्रणालीमा जलन गराउने गर्छ । यसको असर प्रदर्शनकारीसँगै बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा प्रदर्शनस्थल आसपासका सर्वसाधारणमा समेत पर्न सक्ने बताइएको छ ।
सन् २०२० मा अमेरिकामा भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनका क्रममा अश्रुग्यास प्रयोगबारे एसोसिएटेड प्रेस (एपी) ले गरेको अनुसन्धानले यसको स्वास्थ्य प्रभावसम्बन्धी अध्ययन तथा निगरानी सीमित रहेको देखाएको थियो । त्यसपछि गरिएको एक अध्ययनले अश्रुग्यासको सम्पर्क र प्रजनन स्वास्थ्यमा देखिने प्रतिकूल असरबीच सम्भावित सम्बन्ध औँल्याए पनि प्रत्यक्ष कारणात्मक सम्बन्ध पुष्टि गर्न सकेको थिएन ।
अध्ययनकी प्रमुख लेखिका आशा हसनले महिलाको महिनावारी तथा प्रजनन स्वास्थ्यमा अश्रुग्यासले पार्न सक्ने प्रभावबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ ।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले भने भीड नियन्त्रणका लागि अश्रुग्यास आवश्यक साधन भएकाले यसको प्रयोग रोक्ने माग अस्वीकार गर्नुभएको छ । गृह मन्त्रालयले उपलब्ध वैज्ञानिक अध्ययनले सीएस रसायनका कारण महिनावारीमा परिवर्तन वा गर्भपतन हुने पुष्टि नगरेको जनाएको छ ।
मन्त्रालयका अनुसार अश्रुग्यासको अधिकांश प्रभाव केही घण्टामै हराउने गर्छ । यद्यपि, केही अवस्थामा लक्षण लामो समयसम्म रहन सक्ने मन्त्रालयले स्वीकार गरेको छ ।
फ्रान्सेली गृह मन्त्रालयले सन् २०२१ र २०२२ मा अश्रुग्यासको सम्पर्कबाट हुने स्वास्थ्य प्रभावबारे अध्ययन गरेको जनाएको छ । तर, ती अध्ययनका प्रतिवेदन उपलब्ध गराउन एपीले गरेको अनुरोधमा मन्त्रालयले जवाफ दिएको छैन ।
