मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

एजेन्सी, ६ मङ्सिर । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका करिब ६०० जना विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचाररत छन् ।

मणिपुरको चन्देल जिल्लास्थित चकपिकारोङ क्षेत्रमा भएको उक्त घटना राजधानी इम्फालबाट करिब ७५ किलोमिटर दक्षिणमा पर्दछ । स्थानीय सरकारी अधिकारीका अनुसार विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो । भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार घटनापछि करिब ६०० जनालाई अस्पताल भर्ना गरिएको छ ।

मणिपुरका वरिष्ठ स्थानीय सरकारी अधिकारी हुन्ग्यो वोरसाङले जिल्ला प्रशासन, प्रहरी, अन्तःशुल्क र स्वास्थ्य विभागका टोलीले प्रभावित क्षेत्र तथा अस्पतालको भ्रमण गरी अवस्थाबारे जानकारी लिइरहेको बताएका छन् । उनका अनुसार प्रभावितलाई आवश्यक सहयोगसमेत उपलब्ध गराइएको छ ।

घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । घटनाको कारण पत्ता लगाउन तथा सम्भावित कमजोरी पहिचान गरी आवश्यक कारबाहीका लागि सुझाव दिन मणिपुर सरकारले उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

अधिकारीहरूले शङ्कास्पद मदिरामा विषाक्त पदार्थ रहे–नरहेको पत्ता लगाउन नमुना संकलन गरी फरेन्सिक परीक्षणका लागि पठाएका छन् ।

यसैबीच, विषाक्त मदिरा सेवनबाट मृत्यु तथा बिरामी हुने घटना बढेपछि मणिपुरको स्वास्थ्य विभागले सार्वजनिक स्वास्थ्यसम्बन्धी सचेतना सूचना जारी गरेको छ । विभागले सबै सरकारी तथा निजी स्वास्थ्य संस्थालाई सतर्क रहन, बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन र आवश्यक परे अन्य अस्पतालमा पठाउन निर्देशन दिएको छ ।

त्यस्तै, शङ्कास्पद घटनाको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन पनि स्वास्थ्य संस्थाहरूलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *