विकासशील राष्ट्र भएपछिको तयारीबारे अर्थ मन्त्रालयले थाल्यो गृहकार्य
काठमाडौँ, ६ चैत । नेपाल अतिकम विकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य सुरु गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुट्न र समन्वय गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले सङ्क्रमणकालीन रणनीतिलाई समय सान्दर्भिक बनाउँदै सबै पक्षसँगको समन्वयमा अघि बढ्न आवश्यक रहेकाे बताउनुभयाे ।
बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बनाउँदा प्रस्ताव गरिने विषय, नीति, योजना तथा कार्यक्रमलाई सहज र दिगो बनाउन योगदान गर्नेगरी तयारीमा जुट्नुपर्नेमा जोड दिइएको छ ।
अर्थ मन्त्रालयको कार्य जिम्मेवारीमा दिगो आर्थिक वृद्धि र रोजगारी सिर्जनामा आधारित वित्त नीति, स्थीर मौद्रिक नीति, कोषको उपलब्धता र विकास सहायता परिचालन पर्दछन् । यसैगरी व्यापारिक विश्लेषण तथा उच्च प्रतिफलयुक्त परियोजनाका लागि क्षमता र वित्तीय पहुँच वृद्धि पनि कार्य जिम्मेवारीमा छन् । स्तरोन्नतिका मापदण्डमा प्रतिव्यक्ति कूल राष्ट्रिय आय, मानव सम्पत्ति सूचक, आर्थिक तथा वातावरणीय जोखिम सूचकलगायत रहेका छन् ।