काठमाडाैंकाे बालाजुबाट वेश्यावृत्तिमा लगाएको अभियोगमा रेष्टुरेन्ट सञ्चालक पक्राउ

काठमाडौँ, ६ चैत । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाको उद्दार पनि गरेकाे छ । उद्दार गरिएका बालिकालाई
सुरक्षित आवासका लागि सेल्टरहोममा पठाएको प्रहरीले जनाएको छ ।

लालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।