आगामी बजेटमा नीतिगत सुधार र स्मार्ट योजनालाई प्राथमिकता दिन अर्थमन्त्रीको आग्रह
काठमाडौं, १४ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको लागि १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल भएको हाे। छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकारभन्दा पनि नीतिगत परिवर्तनलाई प्राथमिकता दिन आग्रह गर्नुभएकाे छ ।
उहाँले संघीयताको भावना, संघ, प्रदेश र स्थानीय तहको भूमिका, कार्यक्रमको हस्तान्तरण, र तीन तहको समन्वयमा जोड दिनुभयाे । प्रदेश र स्थानीय तहले गर्न सक्ने काम संघले गर्नु संघीयताको मर्म विपरित हुने उहाँको भनाइ थियो।
अर्थमन्त्री पौडेलले विगतका कार्यक्रमको समीक्षा गरी संघीय योजनामा केन्द्रित हुन, कार्यक्रम रोक्न, घटाउन, समायोजन गर्न, अत्यावश्यक कार्यक्रमलाई निरन्तरता दिन र समय अनुसार जनतासँग जोडिने स्मार्ट कार्यक्रम समावेश गर्न आग्रह गर्नुभयाे। उहाँले तीन करोड रुपैयाँभन्दा कमका आयोजनाहरू समावेश नगर्न अनुरोध पनि गर्नुभएकाे छ ।
अर्थ मन्त्रालयले यसअघि भौतिक पूर्वाधार, शहरी विकास, सञ्चार, शिक्षा, रक्षा, गृह, खेलकुद, भूमि सुधार, कृषि, खानेपानी, संघीय मामिला, उद्योग, स्वास्थ्य, ऊर्जा, महिला तथा बालबालिका मन्त्रालयसँग छलफल गरिसकेको छ। आगामी बजेटबारे बाँकी मन्त्रालयसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।