प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै, बिम्स्टेक शिखर सम्मेलनमा पनि सहभागी हुने
काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) दिउँसो थाइल्याण्डको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली बैंकक जान लाग्नुभएकाे हाे ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा पनि सहभागिता जनाउनुहुनेछ ।
प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार, प्रधानमन्त्री ओली आज दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँग भेटघाट गरी थाइल्याण्डतर्फ प्रस्थान गर्नुहुनेछ ।
प्रधानमन्त्री ओली यही चैत २३ गते शनिबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।