प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैङ्कक प्रस्थान गर्नुभएको छ ।
थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री ओली र उहाँका थाई समकक्षीबीच नेपाल–थाइल्याण्ड सम्बन्धका विविधि विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुुहुनेछ । सोही दिन उहाँले सम्मेलनलाई सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक हुनुहुनेछ ।
शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुनेछ ।