प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले आज शिष्टाचार भेट गर्नुभएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का कृषिमन्त्रीहरुको बैठकका लागि नेपालमा आउनुभएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।

मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री चौहानले दुईपक्षीय सम्झौता र संयुक्त कार्य समूहहरुलाई गतिका साथ अगाडि बढाउनुपर्ने र सानातिना अल्झनका मुद्धा छाडेर थाँती रहेका महत्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशीलरुपमा काम गर्न आफू तयार रहेको बताउनुभयो ।

उहाँले हालै थाइल्याण्डको बैङ्ककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुई देशका बीचमा आशाजनक भविष्य कोरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुनिकीकरणसहित आर्थिक विकासका लागि दुई छिमेकी मिलेर अघि बढ्नुपर्नेमा समान धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग थाइल्याण्डमा भएको भेटवार्ताले विश्वासका वातावरण बनेकाले अब इतिहास वा भावनामा मात्रै नबगी आर्थिक विकासका लागि मिलेर अगाडि बढ्ने कुरा भएको स्मरण गर्नुभयो । उहाँले बदलिँदो विश्व परिवेशलाई आत्मसात् गर्दै त्यसबाट पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यान दिएर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्वार्थका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।