गण्डकीलाई हराएर इरानी टोली सेमिफाइनलमा

पोखरा, १९ वैशाख । इरानी टोलीले शुक्रबार गण्डकी प्रदेशलाई ३—१ को सेटले हराएर प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलको पहिलो सेट १४–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५–१७ को जित निकालेको थियो । तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकीले हार बेहोर्नुप¥यो । इरानी टोलीले तेस्रो सेट २५–१८ र चौथो सेट २७–२५ ले आफ्नो पक्षमा पा¥यो ।

इरानी टोलीले यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटले पराजित गरेको थियो । समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एपिएफबीच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।