बुद्ध जयन्तीः जन्मको उत्सव कि महापरिनिर्वाणको सम्झना ?

 

काठमाडौँ, २९ वैशाख ।  सामान्यतया, मानिस जीवित हुँदासम्म हरेक वर्ष उसको जन्मदिन मनाइन्छ तर, विशिष्ट व्यक्तित्वहरूको देहावसानपछि उहाँहरूको योगदानको कदर र सम्मान स्वरूप जन्मजयन्ती मनाउने विश्वव्यापी प्रचलन छ । महात्मा गान्धी जयन्ती, भानु जयन्ती, मोतीराम जयन्ती, बीपी जयन्ती आदि यसका उदाहरण हुन ।

यसरी बिशिष्ट व्यक्तिहरुको जन्म जयन्ती मनाउँदा उक्त दिन राष्ट्रिय बिदा दिने प्रचलन रहेको छ भने कतैै जन्म जयन्तीका दिन उहाँहरुको सम्झनामा विभिन्न सार्वजनिक कार्यक्रमहरु गर्ने गरिन्छ । संयुक्त राष्ट्रसंघले समेत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको दिन मानिने वैशाख पूर्णिमा (वेसाक दिवस) लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मान्यता दिएर विभिन्न सार्वजनिक कार्यक्रमहरु गर्दै आएको छ । यसले बुद्ध दर्शनको विश्वव्यापी महत्वलाई उजागर गर्दछ ।

अब गौतम बुद्धको जन्म सम्बन्धि ऐतिहासिक तथ्य अनुसार हेरौ, गौतम बुद्धको जन्म ई.पू. ६२३ मा नेपालको लुम्बिनीमा भएको तथ्यलाई नेपाल सरकार, युनेस्को लगायत विश्व समुदायले स्वीकार गरिसकेको छ । सन् १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दा स्पष्ट रूपमा  “The Lord Buddha was born in 623 BC in the famous gardens of Lumbini, which soon became a place of pilgrimage……” भनी उल्लेख गरेको छ (UNESCO World Heritage Centre – Lumbini, WHC Site No.666)। यसले बुद्धको जन्मस्थान र जन्म मिति बारे विश्वलाई स्पष्ट पारेको छ ।

गौतम बुद्धले ३५ वर्षको उमेरमा (ई.पू. ५८८) बोधगयामा सम्बोधि ज्ञान लाभ र ८० वर्षको उमेरमा (ई.पू. ५४३) कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभयो । यी तीनै वटै महत्वपूर्ण घटनाहरू जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणका घटनाहरु विभिन्न बर्षहरुमा वैशाख शुक्ल पूर्णिमाकै दिन परेको हुनाले यस दिनलाई “त्रिसंयोग दिवस” पनि भन्ने गरेको छ र यसै अनुरुप बुद्धजयन्ती लाई त्रिसंयोग दिवसको रूपमा पनि मनाउने चलन रहेको छ ।

अब हामीले बुद्ध जयन्ती कसरी मनाउने त ?
यो अहिलेको मुख्य प्रश्न हो,बुद्ध जयन्ती मनाउँदा गौतम बुद्धको जन्मलाई आधार मान्ने कि महापरिनिर्वाण भएको दिनलाई बुद्ध जयन्ती भनेर मनाउने हो ? अज्ञानतावश वा अन्य कारणले नेपालमा धेरैले यसलाई महापरिनिर्वाण वा मरण दिवस लाई नै बुद्ध जयन्ती भनेर मनाइरहेको छ । अब यस सम्बन्धमा स्पष्ट हुनु अपरिहार्य भैसकेको छ ।

यसको तर्क संगत र सहि उत्तर हो – हामीले बुद्धको जन्म मितिलाई आधार मानेर “जन्मजयन्ती” मनाउनुपर्छ । बुद्ध दिवंगत (महापरिनिर्वाण) भइसक्नु भएकाले त्यो २५६९ औ. उहाँको “जन्मदिन” होइन, “महापरिनिर्वाण दिवस” हो “महापरिनिर्वाण दिवस” लाई जन्मजयन्ती भनेर मनाउनु सरासर गलत हो । प्रज्ञा नेपाली बृहत् शब्दकोशले पनि “जयन्ती” लाई कुनै व्यक्ति वा संस्थाको जन्मदिन वा सो दिनमा मनाइने उत्सव भनेर परिभाषित गरेको छ । दिवंगत भइसकेका विशिष्ट व्यक्तिहरूको सम्झनामा उहाँहरूको जन्मदिनलाई “जन्मजयन्ती” को रूपमा मनाउने विश्वव्यापी प्रचलन छ ।

नेपालमा देखिएको अन्यौल, भ्रम र त्रुटी :
आउँदो वैशाख पूर्णिमा, २०८२ साल वैशाख २९ गते हामी २५६९ औं वा २६४९ औं बुद्धजयन्ती मनाउने भन्नेमा नेपालमा अन्योल,भ्रम र त्रुटी भएको देखिन्छ । नेपालमा हाल बुद्धजयन्ती मनाउने तीन प्रकारका अभ्यासहरू देखिएका छन :
१. जन्ममितिका आधारमा : केहीले बुद्धको जन्म ई.पू. ६२३ लाई आधार मानेर आगामी वैशाख २९ गते २६४९ औं बुद्ध जयन्ती मनाउँदैछन् ।
२. महापरिनिर्वाणका आधारमा : अर्को पक्षले बुद्धको महापरिनिर्वाण ई.पू. ५४३ लाई आधार मानेर (जुन बुद्ध सम्वत्को सुरुवात पनि मानिन्छ) २५६९ औं बुद्ध जयन्ती मनाउँदैछ ।
३. त्रिसंयोग दिवसका रूपमा मात्र : केहिले यतीऔं नभनी केवल त्रिसंयोग दिवसको रूपमा मात्र मनाउने गरेको छ, जसले गर्दा बुद्ध लुम्बिनीमा जन्मनुभएको महत्वपूर्ण तथ्य नै ओझेलमा पर्ने खतरा छ ।
गौतम बुद्ध जन्मेको देशमै उहाँको जन्मजयन्ती मनाउने सन्दर्भमा यस्तो मतभेद,अन्योल र त्रुटी हुनु भनेको हामी सबैको लागि दुःखद कुरा हो । सामान्य तर्कले पनि जन्मजयन्ती जन्ममिति कै आधारमा मनाइनुपर्छ । त्यसैले, अब कुनै पनि भ्रममा नपरी त्रुटि विहिन भएर आउने २०८२ वैशाख २९गते बुद्धजयन्तीलाई बुद्धको जन्ममितिका आधारमा २६४९ औं बुद्ध जयन्तीका रूपमा मनाउनु नै ऐतिहासिक र तार्किक रूपमा सही हुन्छ ।

थेरवादी परम्परा र बुद्ध सम्वतको प्रभाव :
केही थेरवादी बौद्ध मुलुकहरू (जस्तैः श्रीलंका, थाइल्याण्ड, म्यानमार) मा बुद्धको महापरिनिर्वाण भएको वर्ष (ई.पू. ५४३) बाट सुरु भएको “बुद्ध सम्वत्” लाई आधार मानेर बुद्धजयन्तीको गणना गर्ने प्रचलन छ । विदेशमा अध्ययन गरेर फर्केका केही थेरवादी भिक्षुहरूले विदेशि परम्परालाई नेपालमा पनि अनुसरण गर्न खोज्दा भ्रम सिर्जना हुन गएको हो ।

उनीहरुकै लहैलहैमा लागेर बुद्ध जयन्ती समारोह समिति लगायतका संस्थाहरूले समेत महापरिनिर्वाणको मितिलाई आधार मानेर अहिले मरण दिवस (महापरिनिर्वाण दिवस) लाई नै बुद्धजयन्ती भनेर मनाउदै गम्भिर गलती गरिरहेको छ ।

के बुद्ध जन्मेकै देशमा हामीले विदेशी परम्पराको नक्कल गर्दै, महापरिनिर्वाणको मितिलाई वा बुद्ध सम्वतको नयाँ वर्षलाई नै बुद्धजयन्ती भनेर मान्नु उचित हो ? यसरी मान्ने हो भने किन बुद्ध जयन्ती भन्ने सिधा नया बर्ष भने भै हाल्छनी । यसले मरण दिवसलाई बुद्धजयन्ती भनेर मान्दा बुद्धको जन्मस्थल लुम्बिनीको महत्वलाई कम गर्दैन ? किनकि बुद्ध विदेशमा जन्मेको होईन अनी विदेशिहरुले किन बुद्ध जयन्ती मान्छ त ? त्यसकारण उनीहरुले बुद्ध महापरिनिर्वाण भए पछि शुरु भएको सवंतलाई नया बर्षको रुपमा मानिरहेको छ तर नेपालका केहिले बुद्धको नया सम्बत भनेर नभनि बुद्धको नामबाट शुरु भएको नया सम्बतलाई हामी सबैलाई अन्धकारमा पारेर बुद्धजन्मजयन्ती भनेर भ्रम पारिरहेको छ ।

बुद्धजयन्ती,महापरिनिर्वाण दिवस, बुद्ध सम्वत् र त्रिसंयोग दिवस नितान्त फरक फरक विषय हुन् भन्ने कुरा हामी सबैले बुझ्न आवश्यक छ । त्रिसंयोग दिवस भनेर मानेमा जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाण एउटै वर्ष वा एउटै समयमा भएको भन्ने गलत सन्देश जान्छ ।

यी तीन वटा घटनाहरूबीच क्रमशः ३५ वर्ष र ८० वर्षको अन्तराल छ अनि ज्ञान लाभ र महापरिनिर्वाण बीच ४५ बर्षको फरक छ । ऐतिहासिक रूपमा प्रमाणित जन्ममितिलाई बेवास्ता गरेर केवल त्रिसंयोग दिवस मात्र भन्नुले पनि बुद्धको जन्मको विशिष्टतालाई ओझेलमा पार्छ ।

राष्ट्रिय सहमति र लुम्बिनीको महत्व :
नेपालमा वज्रयान, महायान र थेरवाद गरी तीनवटै बौद्ध सम्प्रदायहरू सहअस्तित्वमा छन् सबै मिलेर बुद्ध धर्म र दर्शनको अभ्यास गरिरहेका छन् । बुद्धसँग सम्बन्धित राष्ट्रिय महत्वका विषयमा कुनै एक सम्प्रदायको (जस्तै अखिल नेपाल भिक्षु महासंघ) मात्र एकलौटि पेवा जस्तो गर्नु भन्दा,बुद्ध नेपालमा जन्मनुभएको हुनाले यो विषय बौद्ध समुदायको मात्र नभई सम्पूर्ण नेपालीहरूको चासो र गौरवको विषय भएको हुनाले नेपाल र अन्तराष्ट्रिय प्रचलनलाई पनि मध्ये नजर गरि आगामी बैशाख २९ गते २६४९ औं बुद्धजयन्ती मनाउनु पर्दछ ।

स्मरण रहोस्, सन् १९९८ मा लुम्बिनीमा सम्पन्न प्रथम विश्व बौद्ध सम्मेलन (विषयः “लुम्बिनीः विविधतामा एकताको प्रतीक — विश्व शान्तिको मूलस्रोत”) ले हरेक वर्ष वैशाख पूर्णिमालाई “बुद्धजयन्ती” र “लुम्बिनी दिवस” को रूपमा मनाउने निर्णय गरेको थियो । लुम्बिनी विकास कोषले “लुम्बिनी दिवस” मनाउँदै आए पनि बुद्धजयन्तीको नाममा महापरिनिर्वाणको मिति प्रयोग गरेर गल्ती गरिरहेको देखिन्छ ।

निष्कर्ष र अबको बाटो :
विगतमा जे–जस्ता अभ्यास भए पनि, अब हामीले ऐतिहासिक तथ्य र अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात गर्नुपर्छ । बुद्ध नेपालमा होइन, भारतको बोधगयामा जन्मेका हुन् वा लुम्बिनीमा बोधिसत्वको मात्र जन्म भएको हो जस्ता भ्रम फैलाउने प्रयासहरूलाई निस्तेज पार्न पनि बुद्धको जन्ममितिलाई सहि रुपमा स्थापित गर्नु जरुरी छ ।

तसर्थ, नेपाल सरकार, लुम्बिनी विकास कोष, युनेस्को र विश्व समुदायले मान्यता दिएको ऐतिहासिक तथ्य – गौतम बुद्धको जन्म ई.पू. ६२३ मा लुम्बिनीमा भएको हो – लाई निर्विवाद मूल आधार मान्नुपर्छ । यही आधारमा, विश्वव्यापी प्रचलन अनुसार दिवंगत व्यक्तित्वको जन्मजयन्ती मनाउने नियमलाई पालना गर्दै, बुद्धको चार पवित्र महत्वपूर्ण स्थानहरु मध्ये हाम्रो देशमा बुद्धको जन्मभूमि मात्र रहेको कुरालाई पनि मध्य नजर गर्नु भई आगामी २०८२ साल वैशाख २९ गते पर्ने वैशाख पूर्णिमाको दिनलाई “२६४९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस” को रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मनाउनु नै बुद्धप्रति सच्चा सम्मान, ऐतिहासिक तथ्यप्रति न्याय र सम्पूर्ण नेपालीका लागि गौरव तथा एकताको सन्देश हुनेछ । यस विषयमा रहेको भ्रम चिर्दै राष्ट्रिय स्तरमा एउटै मापदण्ड कायम गर्न सम्बन्धित सबै पक्षको ध्यान जानु आवश्यक छ ।

( लेखक : विजय क्रान्ति शाक्य, संस्कृतिविद् )