विकास साझेदारहरुसँग छलफलमा अर्थमन्त्री, आर्थिक सुधारलाई उच्च प्राथमिकता

काठमाडौँ, ३० वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्वका साथ अघि बढाइरहेको बताउनुभएको छ।

आगामी आर्थिक वर्षको बजेटबारे विकास साझेदारहरुसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा उहाँले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“केही समयदेखि आर्थिक सुधार थालेका छौँ, त्यसबाट सकारात्मक नतिजा पाइरहेका छौँ,” अर्थमन्त्री पौडेलले भन्नुभयो, “भविष्यमा पनि आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिनेछौँ।” उहाँले अध्यादेशबाट गरिएका कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव तथा विभिन्न नीतिगत निर्णयहरु सुधारका महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो।

अर्थमन्त्री पौडेलले आगामी बजेट विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी दिनुभयो। स्रोत सुनिश्चिताको हिसाबले सुविधाजनक अवस्था नरहेको बताउँदै उहाँले मितव्ययिता, खर्च कटौती र सीमित साधन स्रोतको अधिकतम प्रतिफलमा ध्यान दिइने स्पष्ट पार्नुभयो।

छलफलमा अर्थ सचिव घनश्याम उपाध्यायले आगामी बजेटले आर्थिक अनुशासन र निजी क्षेत्रको आत्मविश्वास वृद्धिलाई प्राथमिकतामा राख्ने बताउनुभयो। विकास साझेदारका प्रतिनिधिहरूले राजस्व परिचालन, स्रोतको अधिकतम सदुपयोग र यथार्थपरक बजेट निर्माणमा सुझाव दिँदै नेपाललाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

छलफलमा भारत, चीन, अमेरिका, बेलायत, जापान, विश्व बैङ्क, एसियाली विकास बैङ्क, संयुक्त राष्ट्रसङ्घ लगायतका विकास साझेदारका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।