आईपीओ पाइपलाइनबाट १४ कम्पनी बाहिरिए, को-को परे सूचीबाट?

काठमाडौं, ६ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति प्रक्रियामा रहेका १४ कम्पनीलाई पाइपलाइनबाट हटाएको छ।

लामो समयदेखि अनुमतिको पर्खाइमा रहेका यी कम्पनीहरुलाई सेबोनले सूचीबाट बाहिर राखेको हो।
सेबोन स्रोतका अनुसार, प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीहरुलाई आईपीओ प्रक्रियाबाट हटाइएको हो।

सार्वजनिक लेखा समितिले २०८० पुस १३ गते यस्ता कम्पनीको आईपीओ निष्काशनमा रोक लगाउन बोर्डलाई निर्देशन दिएको थियो।

आईपीओ पाइपलाइनबाट हटाइएका कम्पनीहरुमा अधिकांश जलविद्युत् क्षेत्रका छन्। जसमा सानिमा हाइड्रो पावर, लाफिङ बुद्ध पावर नेपाल, पुवा खोला–वन हाइड्रोपावर, बेनी हाइड्रोपावर प्रोजेक्ट, पुवा खोला वान हाइड्रोपावर र रिचेट जलविद्युत् कम्पनी छन्।

त्यस्तै, एपेक्स हस्पिटालिटी, अर्किड होल्डिङ, अन्नपूर्ण केवलकार, ठमेल प्लाजा होटेल एण्ड सुइट्स, युनिक हाइडेल कम्पनी, एकर्ड फर्मासुटिकल्स, सोपान फर्मासुटिकल्स, कान्तिपुर टेलिभिजन नेटवर्क र प्रभु हेलिकप्टर पनि सूचीबाट हटाइएका छन्।

पछिल्लो तथ्यांकअनुसार, हाल ७७ वटा कम्पनी आईपीओ निष्काशनको पाइपलाइनमा छन्। यी कम्पनीहरुले करिब ५२ अर्ब ५३ करोड ८५ लाख रुपैयाँ बराबरको ३६ करोड ९२ लाख ९८ हजार कित्ता सेयर निष्काशनका लागि अनुमति कुरिरहेका छन्।