मकवानपुरको त्रिभुवन राजपथमा भ्यान दुर्घटना, १४ घाइते
हेटाैंडा, ६ जेठ । मकवानपुरको उत्तरी क्षेत्रमा सवारी दुर्घटना भएको छ । चित्लाङबाट सर्लाही जाँदै गरेको वीङ्गर भ्यान त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो भीमफेदी गाउँपालिका-९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेको हो ।
प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनाग्रस्त गाडी सल्लाको रूखमा अड्किएको छ । दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको डीएसपी अर्यालले बताउनुभयो । उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुसन्धान अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ । घाइतेहरूको उद्धार कार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय पालुङ, भीमफेदी, प्रहरी चौकी भैंसे तथा सिमभञ्ज्याङबाट प्रहरी परिचालन भएका छन् ।