आइओएफटिसीको १५ औँ संस्करण नेपालमा
काठमाडौँ, १२ जेठ । इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)को १५ औँ संस्करण नेपालमा हुने भएको छ । आइओएफटिसी नेपालको आयोजनामा काठमाडौँको दशरथ रङगशालास्थित कभर्ड हलमा हुने सो प्रतियोगिता सन् २०२५ डिसेम्बर १८ देखि २० तारिखसम्म हुनेछ ।
अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ, अमेरिकाकै मिचिगन तथा दक्षिण कोरियामा एक–एक संस्करणको आयोजना भइसकेको छ ।
आइओएफटिसीका निर्देशक ग्रान्डमास्टर दिवाकार डान महर्जनले प्रत्येक दोस्रो वर्ष यो प्रतियोगिता अमेरिकामा हुने प्रावधान भएको भए पनि २५ वर्ष पुगेकोले यसपटक नेपालमै इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस प्रतियोगितामा नेपाल, दक्षिण कोरिया,अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिको, माल्दिभ्सलगायतका राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा करीब सात सयभन्दा बढी खेलाडीले भाग लिने अपेक्षा गरिएको छ । इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपमा सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरेका छौँ ।
प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।
सो प्रतियोगितामा उपस्थिति जनाउन ओलम्पिक स्वर्ण पदक विजेता तथा विश्व ओलम्पिक तेक्वान्दो फेडरेसन्सका अध्यक्ष मुन डाइ सुङ र कुकिवनका प्रशिक्षक मिन हाक सिओले नेपाल भ्रमण गर्नुहुुनेछ । प्रतियोगिताको पहिलो दिन पुम्से सेमिनारको पनि आयोजना हुनेछ । प्रशिक्षक सिओले सो सेमिनार सञ्चालन गर्नुहुनेछ ।