प्रथम एनटिए नेसनल टिम च्याम्पियनको तयारी
काठमाडौ, २२ जेठ । नेपाल तेक्वान्दो संघको आयोजनामा पहिलो पटक एनटिए नेसनल टिम च्याम्पियन्सीप २०२५ प्रतियोगिता हुने भएकोछ । सो प्रतियोगिता असार १ र २ गते हुनेछ ।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले तेक्वान्दोको ग्यरोगी विधामा मात्र आयोजना हुन गईरहेको यस टिम प्रतियोगिता विश्व तेक्वान्दोको टिम ग्यरोगीको नियम आधारमा हुने बताए । उहाँले यस नयाँ प्रकृतिको तेक्वान्दो प्रतियोगताले नेपाली तेक्वान्दो खेलाडीहरुमा छुट्टै जोश तथा उत्साह ल्याउने तथा खेलाडीहरुमा टिम व्यवस्थापनको ज्ञान प्रदान गर्नुमा निकै महत्वपूर्ण भूमिका रहनेछ पनि भने ।
यस प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा क्याडेट महिला टिम तथा क्याडेट पुरुष टिम साथै १५ देखि १७ वर्ष उमेर समूहमा जुनियर महिला टिम तथा जुनियर पुरुष टिम गरी जम्मा ४ स्वर्णका लागि प्रतिस्पर्धा गरिनेछ । नेपाल तेकवान्दो संघका केन्द्रीय सदस्य बब्लु शिवाकोटीले एक टिममा तीन खेलाडी हुने जानकारी दिनुभयो ।
प्रत्येक विजेता टिमलाई स्वर्ण पदक, प्रमाणपत्र तथा टिम प्रथम ट्रफीसहित ५० हजार रुपियाँले सम्मानित गरिनेछ । प्रत्येक द्वित्तीय टिमलाई रजत पदक, उपविजेता ट्रफी र २५ हजार रुपियाँ प्रदान गरिनेछ । तेस्रो हुने टिमलाइ कास्य पदक र तृतीय ट्रफी दिइनेछ ।
कूल तीन लाख रुपियाँ पुरस्कार राशि रहेको यस राष्ट्रियस्तरको टिम फाईट प्रतियोगितामा देशभरका करिब सात सय तेक्वान्दो खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताको उच्च व्यवस्थापन र सफल आयोजनाका लागि प्रतियोगिता सञ्चालन गर्न ३० जना निर्णायक टोली, दुई जना प्राविधिक र दस स्वंयसेवक परिचालन गरिनेछन् ।
नेपाल तेक्वान्दो संघका प्रवक्ता साम्राज्यविक्रम पाण्डेले संघले वर्षमा कम्तीमा चार–पाँच प्रतियोगिता गर्ने लक्ष्यअनुसार पनि यस प्रतियोगिता गर्न लागेको बताउनुभयो ।
प्रतियोगिताको कुल अनुमानित लागत करिब १२ लाख ५५ हजार रहेको छ । नेपाल तेक्वान्दो संघले सम्पूण रकमको व्यवस्थापन गर्ने व्यहोरा गर्ने बताइएको छ ।