प्रथम एनटिए नेसनल टिम च्याम्पियन्सीप सम्पन्न
काठमाडौँ, २ असार । प्रथम एनटिए नेसनल टिम च्याम्पियन्सीप २०२५ प्रतियोगितामा सोमबार ढल्को तेक्वान्दो डोजाङ, अल्फा तेक्वान्दो डोजाङ र तारर्केश्वर टिम विजेता बनेका छन् ।
नेपाल तेक्वान्दो सङ्घको आयोजनामा सातदोबाटोस्थित तेक्वान्दो कभर्ड हलमा भएको दुई दिने प्रतियोगिताको अन्तिम दिन क्याडेट पुरुषको फाइनलमा ढल्को तेक्वान्दो डोजाङले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई हरायो । सो स्पर्धामा नेपाल टाइगर्स तेक्वान्दो डोजाङ र सीतापाइला तेक्वान्दो डोजाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे ।
नेपाली तेक्वान्दो खेलको इतिहासमा पहिलो पटक आयोजना भैरहेको टिम फाईट (ग्योरोगी) अन्तर्गत पुरुष जुनियरको उपाधि भिडन्तमा अल्फाले टिम चितवनलाई पराजित गर्यो । सो विधामा टिम धनगढी र टिम तार्केश्वरले संयुक्तरुपमा तेस्रो स्थान हासिल गरे ।
यसैगरी जुनियर महिलामा तार्केश्वर टिमले च्याम्पियन बन्न फाइनलमा फियरलेस तेक्वान्दोलाई हराएको थियो । यान्सुब तेक्वान्दो डोजाङ र गोर्खाजी तेक्वान्दो डोजाङ संयुक्तरुपमा तेस्रो भए । यसअघि, पहिलो दिन महिला क्याडेटमा द राइजिङ फाइटर तेक्वान्दो डोजाङ टिम विजेता र बालाजु तेक्वान्दो डोजाङ उपविजेता बनेका थिए ।
च्याम्पियन्सीपका विजेता टिमलाई ५० हजार र उपजिेतालाई २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलगेट्स बब्लु सिवाकाटीले जानकारी दिनुभयो। विजतोहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशसम्शेर राणाले पुरस्कार प्रदान गर्नुभएको थियो ।