संसदीय गतिरोध कायमै: रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारबीच बजेट छलफल जारी
काठमाडौँ, ८ असार । प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध र नाराबाजी आज पनि जारी रह्यो। गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक नै बहिष्कार गर्यो।
विपक्षीहरूको अवरोधका बाबजुद, सरकारले आगामी आर्थिक वर्षको बजेटमाथिको मन्त्रालयगत छलफललाई अगाडि बढाएको छ।
बैठकमा बोल्दै रास्वपाका सांसद असिम साहले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग दोहोर्याउँदै आफ्नो पार्टीको एक्लो संघर्षलाई कमजोरी नठान्न चेतावनी दिनुभयो।
त्यसैगरी, बैठक बहिष्कार गरेको राप्रपाका सांसद धवल शमशेर राणाले गत चैत १५ गतेको आन्दोलनमा आफ्नो पार्टीको मञ्चमा अश्रुग्यास प्रहार गरेर राज्यले नै हिंसा फैलाएको गम्भीर आरोप लगाउनुभयो।