क्लब विश्वकपमा रियल म्याड्रिडको जित

चर्ललोटे (अमेरिका), असार ९ गते । क्लब विश्वकप फुटबल प्रतियोगितामा दस खेलाडीमा सीमित रियल म्याड्रिडले पाचुकालाई ३–१ ले हराएर अन्तिम १६ स्थान नजिक पुगेको छ । रियल म्याड्रिड पहिलो खेलमा सउदी अरबको अल हिलालसँग १–१ ले बराबरीमा रोकिएको थियो ।

खेलको सातौँ मिनेटमै डिफेन्डर राउल एसेन्सियोले रातो कार्ड पाएपछि रियल म्याड्रिड संकटमा परेको थियो । तर पूर्वार्धमै युड बेलिङघम र अर्डा गुलरले गोल गरी रियल म्याड्रिडलाई आरामदायक स्थितिमा पुर्याए । इङगल्यान्डका मिडफिल्डर बेलिङघमले खेलको ३५ मिनेटमा फ्रान गार्सियाको पासमा र आठ मिनेटपछि गुलरले गोन्जालो गार्सियाको पासमा गोल गरी स्कोर २–० बनाएका हुन् । मध्यान्तरपछि फेडरिको भलमार्डेले ब्राहम डियाजको सहयोगमा गोल गरे । खेलको ८० औँ मिनेटमा पाचुकाका इलियस मोन्टियलले एक गोल फर्काए । एजेन्सी