काठमाडाैंमै पिस्तोल र म्याग्जिनसहित दुई जना पक्राउ
काठमाडौँ, १६ असार । प्रहरीले एक थान कटुवा पिस्तोल र सोको दुई थान म्याग्जिनसहित तिलगङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–८ तिलगङ्गामा हतियार लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा महोत्तरीका २९ वर्षीय सुरेशकुमार राम तथा सोही ठाउँका २६ वर्षीय दिनेशकुमार राम रहेकाे छ ।
पक्राउ परेकाहरूले आफ्नो कोठामा लुकाइछिपाई राखेको अवस्थामा उक्त पेस्तोल र म्याग्जिन, एक थान डोफेन्गो रेडियो सेट, रेडियो सेटको ब्याट्री १५ थान, खुकुरी एक थान तथा तीन थान मोबाइललगायत सामान नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता बोहराले बताउनुभयो ।