गाजामा ६ हप्ते युद्धविरामका लागि इजरायल सहमत : राष्ट्रपति ट्रम्प

एजेन्सी, १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा तत्काल युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजरायलले नयाँ प्रस्ताव अघि सारेको खुलासा गरेका छन्। ह्वाइट हाउसबाट सम्बोधन गर्दै उनले इजरायलको यो प्रस्तावले युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्न सक्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार, यो प्रस्ताव तीन चरणको हुनेछ। पहिलो चरणमा ६ हप्ताको पूर्ण युद्धविराम लागू हुनेछ। यस अवधिमा इजरायली सेना गाजाको आबादी क्षेत्रबाट पछि हट्नेछ र हमासले महिला, वृद्धवृद्धा र घाइतेसहित केही बन्धकहरूलाई रिहा गर्नेछ। बदलामा इजरायलले सयौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।

ट्रम्पले यो प्रस्ताव कतार र इजिप्टजस्ता मध्यस्थकर्ताहरूमार्फत हमासलाई पठाइएको जानकारी दिएका छन्। “अब यो प्रस्ताव स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण जिम्मेवारी हमासको काँधमा छ,” उनले भने, “हमासले यो अवसर गुमाउनु हुँदैन।”

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि आफ्ना सबै लक्ष्यहरू (हमासको विनाश र सम्पूर्ण बन्धकको रिहाइ) पूरा नभएसम्म युद्ध नरोकिने बताएका छन्। तर, उनले युद्धविराम वार्ताका लागि आफ्नो टोलीलाई अधिकार दिएको पुष्टि गरेका छन्।

यो घोषणा यस्तो समयमा आएको हो जब इजरायली सेनाले दक्षिणी गाजाको रफाह क्षेत्रमा आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिइरहेको छ। हमासले भने प्रस्तावबारे अध्ययन गरिरहेको र आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *