देवगणहरूको सम्मान तथा दुई कृति विमोचन
ललितपुर, २१ असार। नेपालभाषा मंका: खल:, यलले ललितपुरका पौराणिक, ऐतिहासिक तथा मौलिक मुकुण्डो नाचहरूको संरक्षणमा समर्पित देवगण संस्थाहरूलाई ताम्रपत्र र नगद सम्मान गर्दै दुई महत्वपूर्ण कृतिको विमोचन सम्पन्न गरेको छ।
ताम्रकार समाज, जावलाखेलमा आयोजित भव्य कार्यक्रममा सदियौँदेखि जीवित रहेको का संरक्षक संस्थाहरू — श्री हरसिद्धि त्रिशक्ति भवानी, श्री नवदुर्गा गुठी, श्री रुद्रायणी गुठी, श्री कार्तिक नाच संरक्षण समिति, तथा गं प्याखँ प्रबन्ध समितिलाई नगद १० हजारका साथ ताम्रपत्र प्रदान गरी सम्मान गरिएको हो। नेपालभाषा मंका: खल:, यलले विशेष गरी ललितपुरका पाँचवटा प्रमुख मुकुण्डो नाच — जल प्याखँ (श्री हरसिद्धि नाच), गथु प्याखँ (श्री नवदुर्गा नाच), सिकाली प्याखँ (श्री रुद्रायणी नाच), गं प्याखँ (श्री अष्टमातृका नाच), र काति प्याखँ (श्री कार्तिक नाच) का संरक्षकहरूलाई यो सम्मान समर्पित गरेको हो।
प्रमुख अतिथि, नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मानपत्रहरू वितरण गर्नुका साथै लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन, मानिक रत्न शाक्यद्वारा लिखित ललितपुरका प्रसिद्ध मुकुण्डो नाचहरू नामक पुस्तकको विमोचन गर्नुभयो। यस पुस्तकले ललितपुरका मौलिक नाच परम्पराबारे गहिरो अनुसन्धान प्रस्तुत गर्दै नेपालका सांस्कृतिक धरोहरलाई नयाँ दृष्टिकोणबाट उजागर गरेको उल्लेख गर्दै मन्त्री सिंहले यसले नेपाली मौलिकतालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसै गरी, नेपालभाषा मंका: खल:, यल र मिसा साहित्यकार मुना महिला साहित्यिक संस्थाको संयुक्त पहलमा तयार भएको नेपालभाषाको कविता सङ्ग्रह सत्यया लँपु को पनि विमोचन गरिएको थियो। ९४ जना वरिष्ठ एवं नवोदित कविहरूको सिर्जनालाई समेटिएको उक्त सङ्ग्रहमा माया, प्रेम, जीवनदर्शन, भाषिक आन्दोलन जस्ता विविध आयामका भाव समेटिएका छन्।
विशेष अतिथि बागमती प्रदेश सभाका रामकृष्ण चित्रकारले नेवार समुदायमा पौराणिक परम्परा पुस्तान्तरणको अभ्यासलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरलाई पुरातन सभ्यता र समृद्ध संस्कृति बोकेको नगरका रूपमा चित्रण गर्दै, यसको भाषा, कला र सम्पदाको संरक्षणमा सबैको संयुक्त प्रयास अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नेवा: दे दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, पुस्तकका लेखक डिन माणिक रत्न शाक्य, मिसा साहित्यकार मुनाका अध्यक्ष बिमल प्रभा बज्राचार्य लगायतले आ–आफ्ना मन्तव्य राख्दै शुभकामना व्यक्त गर्नुभयो।
समारोहका संयोजक तथा प्रकाशन व्यवस्थापक राजु ताम्राकारले स्वागत मन्तव्यमा देवगणहरूको सम्मानलाई संस्थाको सानो प्रयासको रूपमा उल्लेख गर्दै, यस खालका सांस्कृतिक संरक्षण कार्यक्रमलाई राज्यको तीनवटै तहका सरकारहरूले अङ्गिकार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। अध्यक्ष हिराकाजी महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उनले आफ्नो संस्थाले ५५ करोडको सांस्कृतिक भवन निर्माणको अभियान थालेको जानकारी गराउँदै, सबै क्षेत्रबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।