मुलुकको अर्थतन्त्र एक वर्षमा ४ खर्बले बढ्यो

काठमाडौँ, २६ असार । मुलुकको अर्थतन्त्रको आकार एक वर्षमा ४ खर्ब रुपैयाँले बढेको छ। अर्थ मन्त्रालयले बिहीबार तथ्याङ्क सार्वजनिक गर्दै गत आर्थिक वर्षमा ५७ खर्ब रहेको अर्थतन्त्र चालु आर्थिक वर्षमा ६१ खर्ब पुगेको जनाएको छ।

मन्त्रालयका अनुसार एक वर्षको अवधिमा राजस्व संकलन १ खर्ब ८ अर्बले र पुँजीगत खर्च ३६ अर्बले बढेको छ। यस्तै, निजी क्षेत्रतर्फको कर्जा प्रवाह ८.७ प्रतिशत र रेमिट्यान्स १५.५ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको सर्वेक्षणलाई उद्धृत गर्दै मन्त्रालयले यातायात, निर्माण, उद्योग, कृषि र बैंकिङसहित अर्थतन्त्रका १८ वटा क्षेत्रका सूचक सकारात्मक रहेको जनाएको छ। लगानीमैत्री वातावरण निर्माणका लागि विभिन्न ऐनमा संशोधन गरिएको र नीतिगत सुधारमा प्रगति भएको पनि मन्त्रालयले उल्लेख गरेको छ।

यद्यपि, लक्ष्यअनुसारको राजस्व संकलन, पुँजीगत खर्चमा थप वृद्धि र ‘ग्रे लिस्ट’को जोखिमबाट बच्नु अर्थतन्त्रका मुख्य चुनौती रहेको पनि मन्त्रालयले स्वीकार गरेको छ।