अन्तर्राष्ट्रिय निर्णायकमा सक्रिय राजु क्षेत्री
काठमाडौँ, २६ असार । अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्रीले प्रतिष्ठित विश्व वरीयता किमुन्योङ कप तेक्वान्दो च्याम्पियन्सीपमा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
दक्षिण कोरियाको पुसानमा भएको प्रतियोगितामा क्षेत्रीले तेस्रो पटक निर्णायकको रुपमा सहभागी भएका हुन् । सो प्रतियोगतामा ४० देशका २५ सय तेक्वान्दो खेलाडीको सहभागिता रहेको बताइएको छ । गत अप्रिलमा विश्व मुख्यालयको तेक्वान्दो कोरियाको विदेश विभागको उपाध्यक्षमा मनोनित हुने पहिलो विदेशी बनेका क्षेत्री अन्तर्राष्ट्रिय रेफ्रीको रुपमा सक्रिय छन् ।
युएस ओपनमा पनि तीन पटक रेफ्री बनिसकेका क्षेत्रीले दक्षिण कोरियामा भएको विश्व वरीयताको जी वन किमुन्योङ कप, जापानको ओसामा भएको वाटा ओपन, दक्षिण कोरियामा भएको सिओङनाम ओपनलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
क्षेत्रीले सन् २००८ मा विश्व वरीयताको जी टु कोरियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा खेलाडीको रुपमा स्वर्ण पदक जितेका थिए । खेलकुद क्षेत्रमा पु¥याएको योगदानका कारण क्षेत्रीलाई सन् २०१३ मा कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गर्दै सम्मान गरेको थियो ।