मौद्रिक नीतिको प्रभाव: सेयर बजारमा ३० अंकको उछाल, ११ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ, २९ असार। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आज पुँजी बजारमा उत्साहजनक सुधार देखिएको छ।

विशेषगरी बैंक तथा लघुवित्त कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढ्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब ३० अंकले बढेको हो भने कारोबार रकम ११ अर्ब रुपैयाँ नाघेको छ।

आज नेप्से परिसूचक २९ अंकले वृद्धि भई २,७६०.८० बिन्दुमा पुगेको छ। दिनभरमा ३११ कम्पनीका ३ करोड २५ लाखभन्दा बढी कित्ता सेयर ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँमा खरिदबिक्री भए।

आजको बजार वृद्धिलाई बैंकिङ र लघुवित्त समूहले नेतृत्व गरेका छन्। बैंकिङ समूहको उपसूचक ३.३७ प्रतिशत र लघुवित्त समूहको ३.५० प्रतिशतले बढेको छ। यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, र म्युचुअल फन्ड लगायतका समूह पनि हरियालीमा बन्द भए।

यद्यपि, जलविद्युत्, निर्जीवन बीमा, व्यापार र लगानी समूहको उपसूचकमा भने गिरावट आएको छ। जलविद्युत् समूह सबैभन्दा धेरै ०.८३ प्रतिशतले घटेको हो।

कम्पनीगत आधारमा, एनआईसी एसिया बैंक र खानेपानी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्कोतर्फ, हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.९३ प्रतिशत गुमाएका छन्।

कारोबार रकमका आधारमा आज एनआईसी एसिया बैंकले अग्रता लिएको छ। बैंकको ३७ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यस्तै, कारोबार भएको सेयर संख्याको आधारमा सनराइज ब्लुचिप फन्ड शीर्ष स्थानमा रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *