बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, नयाँ नेतृत्व सहसचिव पोखरेललाई

काठमाडौं, ३१ असार । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल नियुक्त भएका छन्।

तत्कालीन अध्यक्ष शरद ओझाविरुद्ध उजुरी परेपछि सरकारले छानबिन समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेपछि पोखरेललाई नयाँ जिम्मेवारी दिइएको हो।

सोमबारको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव पोखरेललाई जिम्मेवारी दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज पोखरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो।

अध्यक्ष ओझाविरुद्ध परेको उजुरी छानबिन गर्न मन्त्रिपरिषद् बैठकले बीमा ऐन, २०७९ को दफा १२ (२) अनुसार उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समिति गठन भएपछि ऐनबमोजिम ओझा स्वतः निलम्बनमा परेका हुन्।
यसैबीच, छानबिन समितिका संयोजक गिरी तथा सदस्यहरू जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आजै पत्र बुझेर आफ्नो काम सुरु गरेका छन्।