नेकपा एमालेकाे सचिवालय बैठक आह्वान, के के छन् एजेन्डा ?

काठमाडाैं, ३२ असार । नेकपा (एमाले) ले बिहीबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको छ। पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, यो बैठक मुख्यतया दुईवटा महत्त्वपूर्ण कार्यक्रमको तयारीका लागि बोलाइएको हो ।

उनका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा सचिवालय बैठक बस्न लागेको हो।

एमालेको गत माघ ८ गते बसेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

यी बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन्। राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने सचिवालयले निर्णय गरिसकेको छ।