कुलिङ अफ पिरियडसम्बन्धी छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन
काठमाडौँ, २० साउन । ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले आज सभामुख देवराज घिमिरे समक्ष प्रतिवेदन बुझाएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा समितिका संयोजक जीवन परियारले सभामुखलाई सो प्रतिवेदन बुझाउनुभएको हो । सोमबार रातभर सिंहदरबारमा बसेर समितिले प्रतिवेदन तयार गरेको थियो ।
समितिले आजको प्रतिनिधिसभा बैठकमा उक्त प्रतिवेदन पेस गर्ने निर्णय गरेको थियो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।
प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुभएको छ ।