बागमतीका मेयर भरत थापा भ्रष्टाचार र अकुत सम्पत्तिमा दोषी ठहर, १ वर्ष कैद र साढे ३ करोड जरिवाना

काठमाडौँ, २२ साउन । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गरेको छ।

अदालतले थापालाई १ वर्ष कैद र करिब साढे ३ करोड रुपैयाँ जरिवाना सुनाएको छ।

न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापाले आफ्नो वैध आयभन्दा ३ करोड ४५ लाख २२ हजार रुपैयाँ बढी सम्पत्ति जोडेको प्रमाणित भएको ठहर गरेको हो।

सोही बराबरको रकम जरिवाना तिराउने र आर्जित सम्पत्ति जफत गर्ने फैसलामा उल्लेख छ।
त्यसैगरी, नगरपालिकामा नदीजन्य पदार्थको ठेक्कामा ३० करोड २९ लाख रुपैयाँभन्दा बढी हानिनोक्सानी पुर्‍याएको भ्रष्टाचार मुद्दामा पनि थापालाई दोषी ठहर गरिएको छ।

यो मुद्दामा उनीसँगै विमलकुमार पोखरेल र सागर पौडेल पनि दोषी ठहर भएका छन् भने तीन जनाले सफाइ पाएका छन्। यस मुद्दामा सजाय निर्धारणका लागि अदालतले साउन २९ गतेको मिति तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *