म्याग्दीमा १३ करोडभन्दा बढी लगानीमा विकास योजना सम्पन्न, हजारौँ नागरिक लाभान्वित
म्याग्दी, २३ साउन । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका नागरिकको जीवनस्तर उकास्ने गरी ६९ वटा महत्त्वपूर्ण योजनाहरू सम्पन्न गरेको छ ।
करिब १४ करोड रुपैयाँको बजेटमा सञ्चालित यी योजनाहरूबाट हजारौँ घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
कार्यालयका प्रमुख झलकमोहन ओझाका अनुसार खानेपानी, सिँचाइ र नदी नियन्त्रणका योजनामा कुल १३ करोड १९ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ ।
यी योजनाहरू सम्पन्न भएसँगै जिल्लामा १,२८३ नयाँ खानेपानीका धारा जडान भएका छन्, जसले स्वच्छ खानेपानीको पहुँच बढाएको छ । त्यसैगरी, सिँचाइ आयोजनामार्फत ५२ हेक्टर नयाँ जमिनमा सिँचाइ सुविधा पुगेको छ भने ७० हेक्टरमा सुविधा स्तरोन्नति हुँदा कृषि उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
बाढी र पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित गर्न नदी नियन्त्रणका ६ वटा योजनामार्फत पक्की र ग्याबियन पर्खाल निर्माण गरिएको छ । यी योजनाबाट ११० घरपरिवार सुरक्षित हुनुका साथै २.५ हेक्टर जमिन उकास भएको छ । साथै, सौर्य ऊर्जा मर्मत र अध्ययन सर्वेक्षणका कामहरू समेत सम्पन्न भएका छन् ।