सीतापाइला तेक्वान्दो डोजाङद्वारा खेलाडी सम्मान तथा विदाइ

काठमाडौँ, साउन २३ गते । सीतापाइला तेक्वान्दो डोजाङले दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने आफ्ना खेलाडीहरुलाई विदाइ गरेको छ ।

सीतापाइला डोजाङको आयोजना भएको सम्मान तथा विदाई कार्यक्रममा नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुशीला अधिकारी र सीतापाइला तेक्वान्दो डोजाङका अध्यक्ष तथा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य बब्लु शिवाकोटीले थाइल्यान्डमा हुने आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप र काजकिस्तानमा हुने वल्र्ड र्याङकिङ जि वन तेक्वान्दो प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई शुभकामनासहित विदाइ गर्नुभयो ।

शिवागींलाई ५० हजारसहित विदाइ

काजकस्तानमा हुने वल्र्ड र्याङकिङ जि वन तेक्वान्दो प्रतियोगितामा सितापाइला तेक्वान्दो डोजाङकी शिवागीं श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दैछिन् । सो प्रतियोगिता अगस्ट १५ देखि १७ तारिखसम्म हुँदैछ । सीतापाइला तेक्वान्दो डोजाङले शिवांगीलाई सो प्रतियोगितामा सफलता प्राप्त गर्न प्रेरणास्वरुप ५० हजार रुपियाँसहित विदाई गरेको छ ।

हिरोज तेक्वान्दो खेल्न थाइल्यान्ड प्रस्थान

आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन सीतापाइला तेक्वान्दो डोजाङको टिम शुक्रबारै थाइल्यान्डको पटाया प्रस्थान गरेको छ ।अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको सीतापाइला डोजाङका खेलाडीहरुमा ऋत्विक हमाल (१२ वर्षमुखि पुम्से), सोया चक्रधर (गेरोगी ५७ केजी मुनि), देवीश्री निहारिक (पुम्से १७ वर्षमुखि), राजन भण्डारी (पुम्से ३० वर्षमुनि), केशव थापा (पुम्से ४० वर्ष मुनि), फिरोज शाक्य (पुम्से ५० वर्षमुनि), रत्नकाजी महर्जन (पुम्से ५० वर्षमुनि), पुनम श्रेष्ठ (पुम्से ५० वर्षमुनि), दियोन महर्जन (पुम्से १७ वर्ष मुनि), आरुष श्रेष्ठ (गोरोगी, –८० केजी), सुनील अधिकारी (पुम्से ३० वर्ष मुनि) र विनय भण्डारी (पुम्से ३० वर्ष मुनि) रहेका छन् ।

हेड अफ टिममा शिवाकोटी, प्रशिक्षकमा करण सिंह र सुसन दुलाल तथा रेफ्रीमा टार्जन सुब्बा छन् ।

सन्दीपा र राजन सम्मानित

सो कार्यक्रममा सीतापाइला तेक्वान्दो डोजाङले भारतको पुनेमा सम्पन्न रेफ्री कार्स उत्तीर्ण गर्ने सन्दीपा अम्गाईँ र राजन भण्डारीलाई पनि सम्मान गरेको छ । यी दुवैले ग्यारोगी अन्तर्राष्टिय रफ्री कोर्स सफलतापूर्वक पूरा गरेका हुन् । अब सन्दीपा र राजन अन्तर्राष्टिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्न योग्य भएका छन् ।

सन्दीपा हालै नेपाल तेक्वान्दो संघले आयोजना गरेको एनटिए स्पेसल कोचिङ कोर्स २०२५ मा महिलातर्फ उत्कृष्ट बनेकी थिइन् । एनटिए स्पेसल प्रशिक्षक कोर्समा देशभरिबाट चुनिएका ५६ तेक्वान्दो प्रशिक्षकले सहभागिता जनाएका थिए ।

नागार्जुन तेक्वान्दोको हब

सो कार्यक्रममा अध्यक्ष शिवाकोटीले नागार्जुन नगरपालिका तेक्वान्दोको हब भएकोले यस क्षेत्रमा यस खेललाई थप प्रवद्र्धन गर्न यहाँको स्थानीय निकायको ध्यान पुग्न जरुरी भएको बताउनुभयो । उहाँले नागार्जुन नगरपालिकाका थुप्रै तेक्वान्दो खेलाडीले दक्षिण एसियाली खेलकुदसँगै एसियाली र विश्वस्तरका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएको स्मरण गराउनुभयो ।