मलेसियामा नेपाललाई तीन स्वर्ण र एक रजत
काठमाडौँ, २४ जेठ । आठौँ गेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा नेपालले शनिबार तीन स्वर्ण र एक रजत पदक जितेको छ ।
मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा केनिन खड्का, गोविन्द योन्जन र आयुष बोहराले स्वर्ण पदक जिते । यसैगरी सन्दीप बस्नेत रजत पदकमा सीमित बने । टिमका प्रशिक्षक श्रीकृष्ण खड्काका अनुसार ४० केजी मुनि तौल समुहमा केनिस खड्काले आफ्नै घरमा खेलिरहेका मलेसियाली खेलाडीलाई हराएर स्वर्ण पदक हासिल गरे ।
६६ केजी मुनि तौल समुहमा गोविन्दले पाकिस्तानर्लाइ खेलाडी र स्पीड किकमा आयुषले मलेसियाका खेलाडीलाई पराजित गरे । सन्दीप भने ७४ केजी मुनि तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडीसँग हारेर रजत पदकमा चित्त बुझाउन बाध्य बने ।
सो टिम महेन्द्रराज घिमिरेको नेतृत्वमा मलेसिया पुगेको हो । टिम मेनेजरमा गणेशबहादुर खड्का रहेका छन् ।