क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण’को तयारी तीव्र, चिनियाँ विज्ञ टोली चितवनमा

चितवन, २९ साउन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले नेपालमै पहिलोपटक सरकारी स्तरमा ‘बोनम्यारो प्रत्यारोपण’ सेवा सुरु गर्ने तयारीलाई तीव्रता दिएको छ ।

चीन सरकारको सहयोगमा स्थापना हुन लागेको यो अत्याधुनिक सेवाको पूर्वतयारी र प्राविधिक अध्ययनका लागि सात सदस्यीय चिनियाँ विज्ञ टोली आज चितवन आइपुगेको छ ।

नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार चीनले प्रत्यारोपणका लागि आवश्यक भवन, उपकरण र जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ । आज आइपुगेको विज्ञ टोलीले प्रत्यारोपण सेवाका लागि आवश्यक पर्ने अस्पतालका अन्य सहायक विभागहरू जस्तै: सघन उपचार कक्ष (आईसीयू), प्रयोगशाला, र रेडिएसन अंकोलोजीको अवस्थाबारे पाँच दिनसम्म अध्ययन गर्ने अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले जानकारी दिनुभयो ।

टोलीलाई स्वागत गर्दै अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले यसै आर्थिक वर्षभित्र काम सुरु गरी बिरामीलाई छिटो सेवा दिने वातावरण बनाउन आग्रह गर्नुभयो । चिनियाँ टोलीले सम्पूर्ण तयारी पूरा गरी ढिलोमा तीन वर्षभित्र सेवा सुरु हुने आश्वासन दिएको छ ।

मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण साहका अनुसार, नेपालमा वार्षिक करिब १०० जनालाई बोनम्यारो प्रत्यारोपण आवश्यक पर्छ । हाल यो सेवा लिन बिरामीहरू भारत जान बाध्य छन्, जहाँ भारु २० लाख (नेपाली ३२ लाख) भन्दा बढी खर्च हुन्छ । “यो सेवा नेपालमै सुरु भएपछि बिरामीको उपचार खर्च निकै कम हुनेछ,” डा. साहले भन्नुभयो । सुरुमा चार शय्याबाट सेवा थालिने र वार्षिक करिब ५० जनाको प्रत्यारोपण गर्न सकिने लक्ष्य छ ।

प्रत्यारोपणका लागि अस्पताल परिसरमा दुई तले आधुनिक भवन निर्माण गरिनेछ । यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको र एक-दुई सातामा स्वीकृति आउने डा. पौडेलले बताउनुभयो । EIA स्वीकृत हुनासाथ चिनियाँ पक्षले निर्माण कार्य थाल्नेछ । यसअघि अस्पतालले भरतपुर महानगरपालिकालाई रु. १ करोड ७८ लाख राजस्व तिरेर आफ्ना २९ वटा भवनको नक्सा पास तथा अभिलेखीकरणको काम सम्पन्न गरिसकेको छ ।