अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर
काठमाडौं साउन २९ गते । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बई बेस्ड चर्चित नेपाली मोडल, नायिका तथा इन्फ्लुएन्सर अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ ।
काठमाडौं स्पाइकर्सले बिहीबार अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो । सानै देखि खेलकुदमा रुची राख्ने अदितीको बास्केटबल, टेबलटेनिस र स्विमिङ जस्ता खेलमा धेरै रुची छ ।
नेपालको राष्ट्रिय खेल भलिबल, त्यसमा पनि महिला लिगको फ्रेन्चाइज टिममा गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताइन् । ‘एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो । यसमा पनि राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा म एकदमै खुशी छु ।’ अदितीले भनिन् ।
अदितीले भर्खरै केही समयअघि लण्डनमा भएको वल्र्ड च्याम्पियन लेजेण्ड लिग (डब्लुसिएल) मा डिजिटल प्रिजेन्टरको भूमिकामा काम समेत गरेकी थिइन् । जहाँ उनले विश्वकै दिग्गज क्रिकेटहरुसँग अन्तर्वार्ता गर्ने र सामाजिक सञ्जालका लागि कन्टेन्टहरु उत्पादन गर्ने काम गरेकी थिइन् ।
भारतको चलचित्र नगरीको रुपमा परिचित मुम्बईमा बसेर आफ्नो काम अघि बढाइरहेकी अदितीले नेपालमा आएर चलचित्र समेत खेलेकी थिइन् । उनले सन् २०१८ मा कृ र २०२३ मा बाबरी फिल्ममा अभिनय गरेकी थिइन् । यस्तै उनको अभिनय रहेको देवयोल अम्याजन प्राइम सिरिज लन्च हुने क्रममा छ ।
यस बाहेक अदितीले विभिन्न म्युजिक भिडियो देखि एडहरुमा समेत काम गरिसकेकी हुन् । उनले भारतीय म्युजिक भिडियोहरु ‘तु मेरा नही’, ‘इमान तु’, ‘माहिया तुयादा कर’, ‘इन्नी सी गल’, ‘परन्दा’, ‘हावा बन्के’ लगायतमा अभिनय गरेकी छन् ।