कर्णालीको पहिलो गजल गायनमा गुञ्जिए विश्वकीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठ
काठमाडाैं, ३ भदाै । मध्यपश्चिम विश्वविद्यालय साहित्य समाज र सिर्जनशील विद्यार्थी सञ्जाल सुर्खेतको आयोजनामा कर्णाली प्रदेशमा पहिलोपटक गजल गायन भव्य रूपमा सम्पन्न भएको छ ।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना गरिएको गजल गायन कार्यक्रममा विश्वकीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले छ जना गजलकारका गजललाई सङ्गीतबद्ध गरेर प्रत्यक्ष गजल गायनका माध्यमबाट गुञ्जिएका हुन् ।
गजल गायन कार्यक्रममा रमेश सुवेदीको प्यारो कर्णालीय…, ऋषि शर्मा “सुदामा”को घरी पाउ हेर्छ… , महेन्द्र चन्द्र “महासागर”को मेरो संसार… , धिरेन अनुपमको मेरो आँखाको वरिपरि , निराजन विष्टको धेरै लजाएर तिमी… , लिला ढकाल पोखरेलको भेटिन्छन् जीवन… बोलका गजलहरू प्रस्तुत गरिएका थिए ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम प्रमुख आतिथ्यमा ऐतिहासिक गजल गायन कार्यक्रममा दर्शकहरूको बाक्लो उपस्थिति थियो । सिर्जनशील विद्यार्थी सञ्जालका अध्यक्ष निराजन शाहीकाे अध्यक्षता गरेको कार्यक्रमको संयोजन तथा सहजीकरण साहित्य समाजका अध्यक्ष दीपक उपाध्यायले गरेका थिए ।
गजल गायनमा सन्तोष श्रेष्ठलाई वाद्यबादनमा सुबास गौतमले तबला, ज्ञान बहादुर नेपालीले बाँसुरी र रोहित सिंहले गितार बजाएर साथ दिएका थिए । गजल गायन कार्यक्रममा प्रस्तुत भएका गजलकार,सङ्गीतकार, गायक र वाद्यबादकलाई सम्मानसमेत गरिएको थियोे ।