हुम्लामा ‘चोख्या पर्व’ को उल्लास, मौलिक संस्कृति र परम्पराको प्रदर्शन
काठमाडौँ, ६ भदौ । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा विशेष मौलिक पहिचान बोकेको ‘चोख्या पर्व’ परम्परागत उल्लास र धार्मिक निष्ठाका साथ मनाइएको छ । विशेषगरी जिल्लाको सिमकोट गाउँपालिका-८ स्याँडा र अदानचुली गाउँपालिका-६ पालगाउँका स्थानीयवासीले यो पर्वलाई धुमधामका साथ मनाएका छन् ।
यो पर्व व्यासी समुदायको एक विशिष्ट सांस्कृतिक पर्व हो । जसलाई बालीनालीमा लागेको आँखा (कुदृष्टि) लाई हटाएर अन्नबाली सप्रियोस् भन्ने कामनाका साथ मनाइन्छ । परम्परागत धार्मिक संस्कारअनुसार, स्थानीयहरूले आफ्ना कूल देवता ‘कुतिहिल्सो’ को विशेष पूजाआजा गरी स्याँडा गाउँमाथिको ‘चोख्या चउर’ मा भेला भएर रमाइलो गर्ने गर्दछन् ।
पर्वको सुरुवात कूल देवताको मन्दिरमा पूजाआजा र वर्षभरिका लागि गरिने भाकलको छिनोफानोबाट हुन्छ । यस क्रममा धार्मिक झाँक्रीहरू नाच्ने र देवताको स्तुति गर्ने गर्दछन् । चोख्या पर्वमा धामी (देवताको दूत) को विशेष भूमिका रहन्छ । स्थानीयका अनुसार, धामीले छ-सात घैँटो जाँड (छ्याङ) सेवन गरेर नाच्ने परम्परा छ । जसले पर्वमा अलौकिक र सांस्कृतिक रङ थप्छ ।
स्थानीयहरू आफ्ना परम्परागत भेषभूषा, विशेषगरी पुराना बक्खुमा सजिएर ‘फुर्का’ खेल्ने र रमाइलो गर्ने गर्दछन् । देउडा पारखीहरूका लागि यो पर्व विशेष अवसर बन्ने गर्छ । जहाँ उनीहरू रातभर देउडा खेलेर रमाउँछन् । यो पर्वले सामाजिक सद्भाव र आपसी भाइचारालाई पनि प्रवर्द्धन गर्दछ । घरमा पकाइएका मिष्ठान्न परिकारहरू आफन्त र छिमेकीसँग बाँडेर खाने तथा बाहिरबाट मेला हेर्न आउने पाहुनाहरूलाई स्वागत सत्कार गर्ने यहाँको विशिष्ट चलन छ ।
सिमकोट-८ स्याँडाका वडाध्यक्ष कमल बुढाका अनुसार, जिल्लाका अन्य स्थानका व्यासी समुदायले यो पर्व नमनाए पनि स्याँडा र पाल गाउँमा यसलाई परापूर्वकालदेखि नै विशेष महत्वका साथ मनाइँदै आएको छ। चोख्या मेला हेर्नका लागि स्याँडा र यसका आसपासका गाउँहरू डाँडाफया, सिमकोट, ठेहे, चौगनफया, धारापोरी, र हेप्काबाट समेत ठूलो संख्यामा भक्तजन तथा दर्शकहरू भेला हुने गर्दछन् । तीन दिनसम्म चल्ने यो पर्वले हुम्लाको मौलिक संस्कृति र परम्परालाई जीवन्त राखेको छ ।