मनसुन पुनः सक्रिय: चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, ७ भदौ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र मनसुनको न्यून चापीय रेखा सक्रिय हुँदा आज देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेषगरी बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रही पहाडी भू-भागका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ भने बाँकी भू-भागमा आंशिक बदली रही थोरै स्थानमा मात्र वर्षाको सम्भावना छ। राति गण्डकी प्रदेशको पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने हुनाले नदी तटीय क्षेत्र र होचा भू-भागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन तथा यातायात सञ्चालनमा समेत सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।