सर्वनाममा गजलले गुञ्जायमान सुक्रबार साँझ, जलजला, राधा र सन्तोषले बनाए मन्त्रमुग्ध

काठमाडौँ, ७ भदाै । १६०औँ मोतीजयन्तीको अवसरमा शुक्रबार सर्वनाम थिएटरमा एक ऐतिहासिक साङ्गीतिक साँझ सम्पन्न भयो।

गजलकार राधा कणेलका शब्द, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायिका जलजला परियारको स्वरमा गुञ्जिएको ‘राधा कणेल साङ्गीतिक गजल साँझ, २०८२’ ले नेपाली गजल गायनमा एक नयाँ अध्याय थपेको छ, जहाँ पहिलो पटक नारी स्रष्टाका गजल नारी स्वरमै एकल रूपमा प्रस्तुत गरियो।

जब जलजला परियारले राधा कणेलका शब्दहरूलाई आफ्नो सुमधुर स्वरमा प्रस्तुत गरिन्, हलमा उपस्थित दर्शक मन्त्रमुग्ध बने:
त्यो दिल अरूको खातिर, खाली नहोस् सधैँभर
मेरो निमित्त मात्रै, बाँकी बचोस् सधैँभर ।
कार्यक्रममा जलजलाले राधाका पाँचवटा गजल गाइन्, जसमा सन्तोष श्रेष्ठको एकल सङ्गीत थियो। प्रायः शृङ्गारिक भावमा प्रस्तुत भएकी उनले जब “तिमी रापिलो छौ, बलेको मकलझैँ / यता दिल छ मेरो, सुकेको सिमलझैँ” गाइन्, हल तालीको गडगडाहटले गुञ्जियो।

गजल अभियन्ता तथा समालोचक घनेन्द्र ओझाले यो कार्यक्रम नेपाली गजल गायनका लागि ऐतिहासिक भएको बताए। “नेपाली गजल सङ्गीतमा हालसम्म नारी स्रष्टाका गजल, नारीकै स्वरमा एकल गायन भएको देखिँदैन,” ओझाले भने, “यो सम्भवतः पहिलो यस्तो कार्यक्रम हो। राधा, जलजला र सन्तोषले साँच्चै इतिहास रचेका छन्।”

उनले आफू र सङ्गीतकार सन्तोष श्रेष्ठले विक्रमको २०८०-२०९० को दशकलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’ घोषणा गरेको र सोही अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

सङ्गीतकार सन्तोष श्रेष्ठले भने “राधाका गजल परिष्कृत र सङ्गीतमैत्री छन्, जसले गर्दा सुन्दर लय सिर्जना गर्न सहज भयो।” समालोचक प्रा. डा. देवी नेपालले “नेपाली गजल लेखनसँगै सङ्गीतमा पनि तीव्र र परिष्कृत विकास भइरहेको देख्दा खुसी लागेको बताउनुभयाे ।”

गजलकार रवि प्राञ्जलले “नेपाली गजल गायनमा यो कार्यक्रम उत्साहप्रद र स्मरणीय रहने बताउनुभयाे ।” कार्यक्रममा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले सङ्गीतकार श्रेष्ठलाई साथ दिएका थिए। अनाममण्डली, नेपाल गजल प्रतिष्ठान र गोल्डेन क्रियसनको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा यो ऐतिहासिक साँझ सम्पन्न भएको हो।