चौथो एनटिए लिग २०२५ मा करीब १५ सय खेलाडी
काठमाडौँ, १० भदौ । नेपाल तेक्वान्दो संघको नीति तथा वार्षिक कार्यक्रमअनुसार चौथो एनटिए लिग २०२५ हुने भएको छ । सो प्रतियोगता भदौ १२ देखि १५ गतेसम्म सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय हलमा हुनेछ ।
नेपाल तेक्वान्दो संघको वरियताक्रमको मान्यता प्राप्त यस चौथो संस्करणमा देश भर बाट ५४५ महिला तथा ९५० पुरुष गरी जम्मा १४९५ खेलाडीको सहभागिता रहने भएको छ । चार दिन सञ्चालन हुने यस प्रतियोगितामा ग्यरोगी तथा पुम्से गरि जम्मा ७२ वटा स्वर्ण पटकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न ४० निर्णायक तथा प्राविधिक परिचालन गरिनेछ ।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक भानुबहादुर चन्दले तेक्वान्दो खेलको विकास र विस्तारका साथै नव उदीयमान र प्रतिभाशाली खेलाडीहरुको पहिचान र खोजी गरी आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिनिधित्व गर्दै देशका लागि उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्य सहित नियमित रुपमा प्रतियोगिताको आयोजना गरेको बताए ।
यसैगरी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स बब्बु शिवाकोटीले खेलाडीको वरीयता निर्धारण गर्ने यो सहभागिताको हिसाबले बृहत प्रतियोगिता हो, भने ।