‘समृद्ध राष्ट्रका लागि कला, साहित्य र संस्कृतिको विकास अपरिहार्य’ – राष्ट्रपति पौडेल

काठमाडौँ, भदौ १६ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको समग्र विकासका लागि भौतिक विकाससँगै कला, साहित्य, सङ्गीत र संस्कृति जस्ता प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश भएकाले यसको गरिमालाई जोगाउन सबैको भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले प्राज्ञिक क्षेत्रमार्फत नेपालको अद्वितीय पहिचानलाई विश्वसामु चिनाउन प्रज्ञा प्रतिष्ठानको भूमिका अझ महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । “सगरमाथालगायत उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधीन नभएको स्वाधीन नेपाललाई विश्वमाझ चिनाउने काममा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ,” उहाँले भन्नुभयो । साथै, नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि प्रतिष्ठानकै भएको उहाँले स्मरण गराउनुभयो ।

राष्ट्रपति पौडेलले भाषा र साहित्यलाई देशको ढुकढुकी, पहिचान र आत्माको रूपमा व्याख्या गर्नुभयो । साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति, ज्ञान, संस्कार, संस्कृति र जीवनको रूपमा परिभाषित गर्दै यसले दिने शिक्षा, सन्देश, चेतना र विचार अपरिमित रहेको बताउनुभयो । उहाँले अनुपम भौगोलिक विविधतासहित विभिन्न जातजाति, भाषा र संस्कृति रहेको नेपालको शान र पहिचान हाम्रा भाषा, साहित्य र संस्कृति नै भएकोमा जोड दिनुभयो । यसको संरक्षण, संवर्धन र विकासमा जुट्नु सबैको साझा दायित्व भएको र सरकारले पनि प्राज्ञिक कर्ममा क्रियाशील प्रतिभाको कदर तथा सम्मान गर्दै भाषा, साहित्य क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट दशमा पर्न सफल कविहरू अविनाश भट्टराई, कर्ण सञ्जय, किशन पौडेल, गोमा श्रेष्ठ, चन्द्रमणि चापागाइँ, तुलसी केसी, रमा सुवेदी ‘मिरमा’, शमुएल कोइराला विश्वकर्मा, सन्ध्या महर्जन र सिर्जन अविरललाई राष्ट्रपति पौडेलले सम्मानपत्र तथा पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल मन्त्रका आधारमा काम भइरहेको जानकारी दिनुभयो । सदस्य सचिव डा. धनप्रसाद सुवेदीले तीन वर्षदेखि कविता महोत्सवमा सबै भाषाका कविता प्रस्तुत गर्ने व्यवस्था मिलाइएको बताउनुभयो भने प्राज्ञ सदस्य बाबा बस्नेतले वि. सं. २०२२ देखि कविता महोत्सव सुरु भएको जानकारी दिनुभयो । पुरस्कृत कविहरूमध्ये कर्ण सञ्जयले मैथिली भाषा, तुलसी केसीले नेपाली र सन्ध्या महर्जनले नेपाल भाषाको कविता वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *