इन्द्रजात्राको तयारी पूरा, याेसिं: ठड्याउने साइत भाेली बिहान १०:३१ बजे

काठमाडाैं, १८ भदाै । काठमाडाैंकाे वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी पूरा भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्राका लागि रथ निर्माण, सरसफाइलगाएतका काम गरिएको हो ।

दरवार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने र रातो ध्वजा फेर्ने काम भएको छ ।

भोलि भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक याेसिं: (इन्द्रध्वजोत्थान) गर्ने साइत बिहान १०:३१ बजे निस्केकाे छ।

साइतमा इन्द्रध्वजासहितको याेसिं: ठड्याइएपछि विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ ।

नेवा: समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको याेसिं:लाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । याेसिं:को फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको याेसिं: ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।