घटनामा ज्यान गुमाएकाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने घुसपैठले अप्रिय स्थिति बन्यो

काठमाडौं, २३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएकाे छ ।
उहाँले अपिल जारी गर्दै प्रदर्शनमा विभिन्न स्वार्थी समूह घुसपैठ गरेपछि संवैधानिक निकायका संरचनामा तोडफोड, आगजनी हुन थालेपछि आन्दाेलनले अर्कैरूपले दुर्घटना निम्त्याएकाे बक्तव्यमार्फत जानकारी गराउनुभएकाे छ ।
सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै सरकारको कुनै नीति नभएको प्रष्टीकरण दिँदै उहाँले सर्वोच्च अदालतको आदेशअनुसार दर्ता र सूचीकरण नगरेका कारण सामाजिक सञ्जाल अस्थायी रूपमा निस्कृय गरिएको बताउनुभयाे ।
घटनामा ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्री ओलीले पीडित परिवारलाई राहत र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था हुने जानकारी दिनुभयाे ।
साथै आजको सबै घटना र क्षतिको छानबिन गरी आगामी दिनमा यस्तो परिस्थित आउन नदिन सिफारिस सहित १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गर्ने प्रतिवद्धता जनाउनुभयाे ।
उहाँले भन्नुभयाे ‘हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौं । तर प्रदर्शनमा ‘घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो ।’