भक्तपुरमा आजबाट मुपात्र र याँमता जात्रा सुरु
काठमाडौँ, भदौ २४ । इन्द्रजात्राको अवसरमा भक्तपुरमा मनाइने तीन दिने मुपात्र र याँमता जात्रा आजबाट सुरु हुँदैछ । विभिन्न धार्मिक ग्रन्थमा आधारित यो जात्रामा राक्षसको पोशाक लगाएका मुपात्रले नगर परिक्रमा गरी यमःद्योलाई तरबारले हान्ने चलन छ । जात्रा सुरु हुनुअघि सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि त्रिशूल आकारको एक जोडा याँमता (आकाश दीप) बाल्छन् । यसै दिन तचपालस्थित सँला गणेशलाई खटमा राखी नगर परिक्रमा गराई सँला गणेश जात्रा पनि गरिन्छ, जसपश्चात् मुपात्र जात्रा निकालिन्छ। याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएका टोलहरूमा परिक्रमा गराइन्छ ।
जात्राको दोस्रो दिन साँझ गोमारीका मानन्धर समुदायको याँमतासँगै चोछेँ टोलको छुमा गणेशको जात्रा हुन्छ। यस दिन छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । दरबार स्क्वायरमा याँमता पुगेपछि बाजागाजासहित याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गरिन्छ। राति सँला गणेश र छुमा गणेशलाई आ-आफ्नो देवगृहमा पुर्याइन्छ ।
जात्राको अन्तिम दिन टौमारीको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट बलि पूजा गरिन्छ। त्यसपछि तल्लो टोलका मानन्धर समुदायले भैरवनाथ मन्दिरबाट सुकुण्डा बालेर ल्याई बुलुचास्थित ढुङ्गेधारामा याँमता बाल्छन् । याँमतासँगै टौमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा नायखिङ बाजाका साथ नगर परिक्रमा गराइन्छ ।
भैरवको खटजात्रापछि लाकुलाछेँ टोलका समुदायले पुलुकिसी जात्रा सुरु गर्छन् । बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपी हात्तीको सुँढ राखी बनाइएको पुलुकिसीलाई चार जनाले बोकेर ल्याउँछन्, एक जना भित्र बसेर घण्टा बजाउँछन् । टौमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर यो जात्रा सुरु गरिन्छ । पुलुकिसीले मुपात्रलाई कुल्चेर मार्दा पनि पुलुकिसी बोक्ने र भित्र बस्नेलाई कुनै कानुन नलाग्ने भएकाले पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मुपात्र जात्रा निकालिन्छ ।
इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, इन्द्रकी आमा वसुन्धरालाई पारिजात फूलको खाँचो पर्दा इन्द्रपुत्र जयन्त फूल खोज्न जाँदा दैत्यहरूले उनलाई पक्रेर बाँधेका थिए । इन्द्रले दैत्यहरूसँग युद्ध गरी जयन्तलाई मुक्त गराएपछि दैत्यहरूले क्षमायाचना गर्दै जयन्तसहित सहर परिक्रमा गराएको लोककथामा आधारित भई यो जात्रा सुरु भएको मानिन्छ ।
जात्रामा मुपात्र बन्ने व्यक्तिले आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने भएकाले उनीहरूलाई अछूतको व्यवहार गरिन्छ। त्यसैले गुठी संस्थानले स्थानीय व्यक्ति नभई विकट ठाउँका व्यक्तिहरूलाई पैसा दिएर मुपात्र बनाउने गरेको छ ।